
Apr 19 2025 | २०८२, वैशाख ६ गते
कविता- ‘अन्तर्वोध’
सन्ध्याका सन्नाटाहरुमा
सत्यको जुन्किरी खोज्दै
छाम्छाम्-छुम्छुम गरिरहेको म
अचानक अपत्यरिलो किरण्
आँखामा चम्कन्छ ।
आगुल्ठोले कुटिएको कुकुर जस्तै थिएँ
मलाई बिजुली चम्के जस्तै भयो ।
मलाई किन चाहिएको थियो सत्य कुन्नी !
जीवन यसै पनि मैहुँ भन्थ्यो !
तर, अन्तर्वोध फरक पाउँथेँ,
सत्य, सत्य नै हो -
खोज सत्यको एउटा जुन्किरीसम्म
जुन परम सत्यकै जुन्किरी होस ।
तर, म सँग सत्य र असत्य
बोधगर्ने क्ष्यमता के थियो र !
कुनै कसी थिएन जाँच्न
त्यसैले, प्रज्वलित किरणमा पनि
विस्वस्तहुन सकिन क्यार !
सत्य साँढे जस्तो डुक्रेर आउँदैन भन्थे
सायद त्यसै भएको थियो !
जुन्किरी खोज्दै थिएँ
चम्किला किरण पत्याउन हम्मे !
किरण - जुनकिरी
जुनकिरी - किरण मेरा हेराईहरू !
बिस्तारै -जुन्किरी
किरण भित्र बिलिन भयो
अनी म त्यही किरण सँग रमाउन थालेँ
त्यही किरणमा झुम्मिन थालेँ
यसैगरी
निरन्तर झुम्मिरहेको छु,
निरन्तर रमाइरहेको छु,
र एकदिन म पनि
जुन्किरी जस्तै
यही किरण भित्र विलय हुन सकुँ ।
-प्रेम रिबुसाल
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij