
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सुर्खेतमा पछिल्लो ६ महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा कर्णाली प्रदेशका ४३० वटा उजुरी दर्ता भएका छन् । साउन यताको ६ महिनाको अवधिमा ४३० वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । ४६७ वटा जिम्मेवारी सरेर आएका उजुरीसहित कार्यालयमा जम्मा ८९७ वटा उजुरी दर्ता भएको कार्यालय प्रमुख नारायणप्रसाद रिसालले जानकारी दिए । जसमध्ये १९६ वटा उजुरी फछ्यौट भएका छन् भने ७०१ उजुरी फछ्यौट हुन बाँकी छन् ।
प्रमुख रिसालका अनुसार अधिकांश उजुरी स्थानीय तहका छन् । कर्णालीका १० जिल्ला मध्ये सबैभन्दा बढी सुर्खेतका उजुरी रहेका छन् । कार्यालयको तथ्यांक अनुसार सुर्खेतका १८३, दैलेखका १६० र कालिकोटका १०७ वटा उजुरी दर्ता भएका छन् । तथ्यांकअनुसार जाजरकोटका ९३, हुम्लाका ७४, मुगुका ६६,जुम्लाका ६५, सल्यानका ५८, रुकुमपश्चिमका ४६ र डोल्पाका ४५ वटा उजुरी दर्ता भएका छन् ।
त्यसैगरी कर्णालीका ७९ वटा स्थानीय तह मध्ये सबै भन्दा बढी सुर्खेतको भेरीगंगा नगरपालिकाका उजुरीहरु दर्ता भएका छन् । कार्यालय प्रमुख रिसालले पछिल्लो समय भ्रष्टाचारका नयाँ नयाँ स्वरुप हरु देखिएको हुँदा अनुसन्धानमा समस्या भएको बताए । ‘पछिल्लो समय भ्रष्टाचारका नयाँ रुप बदलेर आउने गरिएको पाइएको छ’ उनले भने, ‘यस्त खालका उजुरीहरु अनुसन्धान गर्न पनि समस्या हुने गरेको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij