
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ‘छोरी पढाऔँ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । यो क्रम पाँच वर्षसम्म अर्थात् ती विद्यार्थी १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहनेछ ।
यस वर्ष मोरङ जिल्ला कटहरी गाउँपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाउँपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका कालाई रु १२ हजारका दरले कूल रु चार लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिनेछ । पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले दुई, शुभचिन्तकहरु अनुजा खनाल थापाले दुई, सम्वत थापाले दुई, अपूर्वा शर्माले दुई र एकजना शुभचिन्तकबाट दुई जनालाई पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ ।
समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद खनाल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्वसभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणिराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौँलागाईं, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।
समाजद्वारा पहिलो चरणमा पाँचवर्षे छात्रवृत्ति अभियानका लागि पाँच वर्षभित्र रु २२ लाख २० हजारको सहयोगको प्रतिबद्धता व्यक्त गर्ने सबैमा धन्यवाद एवं आभार व्यक्त गरिएको पनि उहाँले बताउनुभयो । सहयोगी हात थपिँदै गएमा छात्रवृत्ति सङ्ख्या पनि वृद्धि गर्दै अभियान अन्य जिल्लामा समेत विस्तार गरिने समाजले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij