
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । अहिलेका हटकेक अभिनेता प्रदीप खड्का कोरोना महामारीभन्दा अगाडि फिल्म ‘प्रेमगीत ३’ छायांकनमा व्यस्त थिए । फिल्मको प्रदर्शन मिति चैत अन्तिमलाई घोषणा गरिएको थियो । यसका लागि उनी प्रचार–प्रसारमा दौडिन तयारी अवस्थामा थिए । तर, सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देश लकडाउन गरेपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ ।
‘प्रेमगीत ३’ प्रदर्शन लगत्तै उनी निर्देशक हेमराज विसीको अनटाइटल प्रोजेक्टको छायांकन थाल्ने तयारीमा थिए । कोरोनाका कारण हेमराजले तत्काल फिल्मको छायांकन नगर्ने भएपछि प्रदीपले निर्देशक दिनेश राउतसँग फिल्म ‘प्रकाश’ मा सहकार्य गरे । यो फिल्मभन्दा अगाडि नै उनी ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनको कमेडी फिल्म ‘हुतुतु’ मा अनुबन्ध भइसकेका थिए ।
उनको पाइपलाइनमा रहेका तीन फिल्ममध्ये पहिला कुन फिल्म फ्लोरमा जान्छ भन्ने चासो धेरैलाई छ । बिहीवार ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गर्दै उनले पहिला दिनेश राउतले निर्देशन गर्ने फिल्म फ्लोरमा जाने जानकारी दिए । यसपछि हेमराज विसीको फिल्म सकेर ‘हुतुतु’ को छायांकन सुरु गर्ने उनले बताए । उनी तीनै फिल्मलाई लिएर उत्साहित देखिएका छन् ।
फिल्म ‘प्रकाश’ मा उनले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् । फिल्मका लागि अहिले अन्य कलाकारको खोजी भइरहेको छ । त्यस्तै, हेमराजको फिल्ममा प्रदीपले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गर्दैछन् । फिल्म ‘हुतुतु’ मा भने उनले अहिले सर्वाधिक चर्चामा रहेको गीत ‘मैसाब’ मा अभिनय गरेकी मोडल छुकिला शेर्पासँग रोमान्स गर्न लागेको चर्चा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij