Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् ।
सभामुख घिमिरे र अध्यक्ष दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गर्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका हुन् ।
उनीहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको बताएका छन् ।
उनीहरुले भनेका छन्-
यही मिति २०८२ भदौ २३ र २४ गते भएको जेन जेडहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ । आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गर्दछौं ।
२०८२ भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजहरू नष्ट हुने गरि भएको आगजनी र तोडफोडले मर्माहत बनाएको छ । संघीय संसद भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपुरणीय क्षति भएको छ ।
देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij