Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । क्यानडाको राष्ट्रिय वायुसेवा कम्पनी 'एयर क्यानडा' का पूर्व पाइलट जियाफ्री वाललाई नक्कली लाइसेन्सका आधारमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आरोपीले यस अवधिमा हजारौँ यात्रुको सुरक्षालाई गम्भीर खतरामा पारेको प्रहरी अधिकारीहरूले जनाएका छन्।
क्षेत्रीय प्रहरीका डेपुटी चीफ निक मिलिनोविचका अनुसार आरोपी वालमाथि ५ हजार डलरभन्दा बढीको धोखाधडी, सार्वजनिक उपद्रव नक्कली कागजातको प्रयोग र किर्ते प्रमाण चिह्न राखेको लगायतका विभिन्न गम्भीर मुद्दा दर्ता गरिएको छ।
५९ वर्षीय वाललाई गत जुन १ मा पक्राउ गरिएको हो। क्यानडाको उड्डयन क्षेत्रको नियामक निकाय 'ट्रान्सपोर्ट क्यानडा' को नियमित जाँचका क्रममा उनको कागजातमा कैफियत भेटिएपछि यो घटना बाहिर आएको हो। प्रहरी अनुसन्धानका अनुसार वालले सन् १९९८ मा उड्डयन क्षेत्रमा आफ्नो करियर सुरु गरेका थिए। सन् २००९ मा नक्कली प्रमाण–पत्र पेश गर्दै उनी पाइलट-इन-कमान्ड अर्थात् क्याप्टेनको पदमा पदोन्नति हुन सफल भएका थिए। त्यसयता उनले वर्षौंसम्म हजारौँ यात्रु बोकेर व्यावसायिक उडानहरू भरिरहेका थिए।
गत वर्ष पियर्सन विमानस्थलमा 'ट्रान्सपोर्ट क्यानडाुले गरेको नियमित सञ्चालन जाँचका क्रममा उनको कागजातमा त्रुटि फेला परेको थियो। त्यसलगत्तै यो घटनाको विस्तृत छानबिनका लागि 'प्रोजेक्ट इकारसु नामक विशेष अनुसन्धान अभियान सुरु गरिएको थियो।
आरोपीले ती नक्कली कागजातहरू कसरी तयार पारे र यति लामो समयसम्म सरकारी प्रणाली तथा वायुसेवा कम्पनीको आँखा छल्न कसरी सफल भए भन्नेबारे अनुसन्धान एजेन्सीहरूले थप छानबिन गरिरहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij