
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौं । रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ ।
चितवनको कालिका नगरपालिका–५ का कँडेललाई बिहीबार चितवनबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
गत साउन ३० गते रूपन्देहीको बेलहियामा ठूलो परिमाणमा विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रसहित भारतीय युवक अभिषेक यादव पक्राउ परेका थिए । अनुसन्धानक्रममा कँडेलको समेत संलग्नता देखिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवको साथबाट त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, भारतीय विश्वविद्यालयका सयौं नक्कली ट्रान्सक्रिप्ट, प्रमाणपत्र, होलोग्राम र स्ट्याम्प बरामद भएको प्रहरीले जनाएको छ ।
पूर्वशिक्षक कँडेल चितवनमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । त्यहीमार्फत उनले नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नाममा विद्यार्थीलाई विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
कँडेल यसअघि पनि नक्कली प्रमाणपत्र प्रकरणकै कारण विद्यालय प्रधानाध्यापक पदका लागि अयोग्य ठहरिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij