काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन्। तर इरानले सम्झौताको समयसीमाबारे कुनै प्रतिकृया दिएको छैन। सामाजिक सञ्जालमार्फत ट्रम्पले सम्झौता भएपछि विश्वको महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’सबैका लागि खुला हुने बताएका छन्।
सम्झौताको मध्यस्थकर्तामध्ये एक रहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप पाउने अपेक्षा गरिएको र त्यसका लागि विद्युतीय हस्ताक्षरको तयारी भइरहेको जनाएको छ। यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले सम्झौतामा हस्ताक्षर हुने मितिबारे सावधानीपूर्ण जवाफ दिए। उनले भने, ‘सम्झौतापत्रमा हस्ताक्षर कहिले हुन्छ भन्नेबारे अझै पर्खनुपर्छ, तर भोलि भने होइन।’
ट्रम्पले इरानको समृद्ध युरेनियम भण्डारलाई संकेत गर्दै ‘उपयुक्त समयमा सबै शान्त भएपछि हामी त्यसलाई नियन्त्रणमा लिएर नष्ट गर्नेछौं।’ साथै, प्रक्रिया सहज रूपमा अगाडि नबढेमा अमेरिकासँग ‘अन्तिम विकल्प’ रहेको चेतावनीसमेत दिए।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरीफले शान्ति सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको बताएका थिए। उनकाअनुसार सम्झौतापछि प्राविधिक तहका वार्ताहरू अर्को साता सुरु हुने बताए।
इरानी विदेशमन्त्री सेयद अब्बास अराघचीले शुक्रबार अमेरिका–इरान सम्झौता नजिक पुगेको बताएका थिए। उनले सम्झौतामा हर्मुज पुनःखोल्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने तथा हिजबुल्लाह र इजरायल बिचको द्वन्द्व अन्त्य गर्ने विषय समेटिएको बताएका थिए।
यद्यपि इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता पछि सुरु हुने जनाइएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले इजरायल र अमेरिकाका खाडी क्षेत्रीय साझेदारहरूमाथि जवाफी आक्रमण गरेको थियो। त्यसक्रममा विश्व तेल तथा एलएनजी आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज मार्ग प्रभावकारी रूपमा बन्द भएको थियो। अप्रिलमा युद्धविराम भए पनि पछिल्ला महिनाहरूमा दुवै पक्षबीच छिटफुट आक्रमण र तनाव जारी रहेको छ।


