
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौँ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ ।
संघीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमवार राति सुर्खेत आइपुगेको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधवारदेखि खोप लगाउन शुरू गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा। रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताए ।
उनका अनुसार ८ वटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोना विरुद्धको खोप लगाइने छ ।
कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्यांकअनुसार कर्णालीमा हालसम्म ९६ हजार ९३६ जनाको पीसीआर परीक्षण भएको छ । तीमध्ये ७ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै २९ जनाको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij