Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कथाः फुटको नतिजा 

कथाः फुटको नतिजा 

  • -नरिश्वर गौतम

    images
    images
    images

    एउटा सानो जङ्गल थियो । जङ्गल उब्जाउ थियो, सुन्दर थियो । अनेक किसिमका बोटबिरुवा थिए । थरिथरिका रङ्गीचङ्गी फूल फुल्थे । विभिन्न किसिमका फल फल्थे । बाँदरहरु जङ्गलका फल खाएर रमाउँथे । साकाहारी जनावर मीठो घाँसले अघाउँथे, साकाहारी जनावरलाई खाएर मांसाहारी अघाउँथे ।
    हात्ती, बाध, सिंह, स्याल, मृग, बँदेल, खरायो धेरै जनावर थिए । विभिन्न किसिमका चराहरु र किराफट्याङ्ग्रा सबैको साझा घर थियो उक्त जङ्गल । सबै आआफ्नो ठाउँमा सन्तुष्ट थिए र मिलेर बसेका थिए । समय बित्दै गयो । एकदिन अर्को जङ्गलबाट एउटा धुर्त ब्वाँसो आइपुग्यो । त्यहाँको वातावरण र सुन्दरता अनि प्रचुरता देखेर लोभियो । तर जङ्गलका जिवजन्तुको एकता र मेल देखेर डाहा गर्न थाल्यो । कसरी यिनीहरुलाई फुटाएर यहाँ राज गर्न सकिन्छ भनेर सोच्न थाल्यो ।

    फर्केर आफ्नो जङ्गलमा गयो । सबै कुरा त्यहाँका जनावरसँग भन्यो । उनीहरु सबैले सोच्न थाले । अब त्यो जङ्गल पनि हाम्रो हुनुपर्छ । उनीहरुले अनेक उपाय निकाले र एउटा अझ धुर्त स्याललाई उक्त जङ्गलमा पठाए । उसले निकै सोझो, सरल र विनम्र बनेर त्यहाँका ठुला र बलशाली जनावरसँग घनिस्ट बन्यो । दिनदिन उसले एकका विरुद्ध अर्कालाई भड्काउने, उचाल्ने र भिडाउने गर्न थाल्यो । जनावरहरुलाई झगडा गर्न हौसला दिदै गयो । म र हाम्रो जङ्गलका साथीहरु सहयोग गर्छौँ नि भन्दै अझ उक्सायो । 

    यसैबिच को ठूलो र बलियो, को यहाँको राजा भन्ने विषयमा घमासान लडाइँ भयो । बलिया र ठुला धेरै जनावर घाइते भए, कति मरे । उनीहरुको जुधाइमा परेर साना जनावर पनि धेरै मरे, कति भागेर अन्तै गए । कमजोर, बुढा र भाग्न नसक्ने मात्र बाँकी रहे । अब लडेर बाँकी रहेका जनावरमध्ये धुर्त स्यालले भनेको मान्ने र आज्ञाकारी चाकडीलाई उसले उक्त जङ्गलको राजा बनाइदियो । केही समयपछि उक्त जनावरमा राजा बनेको घमण्ड चढ्यो । फेरि अरु जनावरलाई सताउन थाल्यो । निहुँ खोज्दै अरु ठुला जनावरसँग झगडा र लडाइँ गर्न थाल्यो । 

    उसको अन्याय र घमण्डबाट वाक्क भएर केही जनावरहरु संगठित भएर उसको मुकाविला गर्न थाले । केही समयपछि अरुले पनि साथ दिए । एकदिन उक्त घमण्डी जनावरलाई कमजोर पारेर आफुमध्येका चारपाँच जनावर राजा भए । एकदिन फेरि अर्को जङ्गलबाट धुर्त स्याल आयो र कानेखुशी गर्न थाल्यो । मिलेका जनावरबिच भाँजो हाल्यो, झगडा गरायो । केही शान्त बनेको जङ्गल फेरि अशान्त भयो । यसै तरिकाले त्यहाँ धेरै जनावर मरे, धेरै राजा फेरिए । धुर्त स्यालको स्वार्थ अझ पुरा भएन । उक्त स्यालले त्यहाँका जनावरलाई एकका विरुद्ध अर्कालाई प्रयोग गर्दै गयो । अन्तमा त्यहाँका जनावर छिन्नभिन्न र गुटउपगुट भए । लामो समयसम्म यो अवस्थाबाट धुर्त स्यालले रजाइँ गर्दै गयो । 

    एकदिन सबै जनावरले अबदेखि मिल्ने, झगडा नगर्ने भनेर आपसमा सल्लाह भयो । मिलेर आलोपालो राजा हुने सहमति पनि गरे । जनावरका गुटउपगुट त छँदैथिए । तीमध्ये केही अलि ठुला र केही साना थिए । उनीहरुमा पनि भित्रभित्र छल, कपट र कुटनीति चलिरहेको थियो । एक्लै त अर्को गुटले सिध्याउँछ । गुटकासाथीसँग पनि रहने र अर्को गुटसँग पनि साँठगाँठ मिलाउँदै गर्ने क्रम चलिरहेको थियो । गुटमध्ये ठूलो र शक्तिशाली गुटमा केही अति नै महत्वाकांक्षी जनावर पनि थिए । मौका पाउनासाथ सबैलाई मूर्ख बनाएर आफू राजा बन्ने दाउ गर्थे ।

     समय यस्तो आयो कि उक्त गुटका सदस्यबिच नै टकराव हुन थाल्यो । यसैबिच दुई जनावर घनिस्ट बनेर अर्कोलाई पाखा लगाए । जसलाई पाखा लगाए ऊ चाहिँ पहिलैदेखिको साथी थियो । यता बाँकी रहेकामा पनि एउटा निकै चलाख र महत्वाकांक्षी थियो । अब बर्सौँदेखिका साथी त फुटाएँ अब अर्को गुटको नाइके त खासै विवेक र बुद्धि भएको छैन, त्यहाँ पनि भित्रभित्र फुट छ, नाइकेलाई फकाईफुलाई गरेर मख्ख पार्छु । अनि केही समयमा त म नै सर्वेसर्वा हुन्छु भन्ने सोचेर उसले साँठगाँठ बढायो । पुराना साथीबाट अलगिएको जनावर एक्लै रहन थाल्यो । यता अरु मिलिजुलीको नाटक गरेर रमाउन थाले । 

    फेरि केही समयमै उक्त मिश्रित गुटमा मनमुटाव सुरु भयो । त्यसभित्रको धुर्त जनावरले फेरि अन्याय र थिचोमिचो गर्न थाल्यो । अब पहिलाको साथी गुमाएको जनावर पछुताउन थाल्यो । ऊ अब एकदम कमजोर र निकम्मा भएको थियो ।  उक्त धुर्त जनावरले घरि आफ्ना गुटका साथीलाई घुर्काउने त घरि फकाउने, घरि अर्को गुटलाई ललिपप देखाउने र घरि तर्साउने गर्न थाल्यो । पहिलाको साथी छाडेर नयाँ धुर्तको साथमा लागेको जनावरलाई खुब पछुतो भयो । यता न उता, घर न घाटको हुन्छु कि भन्ने डरले बेलाबेला उता र उता गरिरहन्छ तर बिचमा छ । उसको साथी भनेको धुर्त पनि कुन डुङ्गामा खुट्टा राखौँ र पारि पुगौँ भनेर जोखाना हेर्दैछ । न कुनैप्रति विश्वास छ, न छैन भनेर दोस्ती टुटाउन सक्छ । उसलाई कतै आफू बाहेकका सबै एकठाउँ पो होलान् कि भन्ने चिन्ता छ । 


    यसरी जनावरबिच घमण्ड, ईर्ष्या, वैमनस्य, अविश्वास र स्वार्थी भावनाले गर्दा कोही ढुक्क भएर बस्न सकेनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij