
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई डरत्रास देखाई लुटपाट गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समीर हुसेन र सोही महानगरपालिका-६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।
विराटनगर महानगरपालिका-१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले रोकी ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौँ, अनुसन्धान गर्नु छ भनि स्कुटरको बिचमा जबरजस्ती राखी जतुवास्थित एकान्त स्थानमा लगेका थिए ।
त्यसपछि डरत्रास देखाई पीडितको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटी फरार भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल उनीहरूविरुद्ध शरीर बन्धक बनाई डाका गरेको आरोपमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij