Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    - नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनीराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनीरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन् । गत संसदीय निर्वाचनमा धनीरामले नाउपाबाट उम्मेदवार बनेर १३ हजार ९६२ मत प्राप्त गर्दै चौथो भएका थिए । अब जनमतले धनीरामलाई रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार बनाउनेगरी पार्टी प्रवेश गराएको जानकारी दिएको छ ।

    images

    - अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रन मात्र बनाएर अल आउट भएको थियो । यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएको थियो । यससँगै एकदिवसीय सिरिज भने दक्षिण अफ्रीकाले २-१ ले जितेको छ ।

    - केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनले भने- 'विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ ।' प्रवक्ता काफ्लेले भने– 'मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।' त्यसैगरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । प्रवक्ता काफ्लेले भने- 'चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ । सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।

    - नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने- 'हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन सघर्षमा सिँगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन ।' प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट गरे ।

    images

    - आर्थिक वर्ष २०८१-८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । आइतबार राष्ट्र बैंकले सार्बजनिक गरेको बार्षिक आर्थिक तथा वित्त स्थितिको विवरण अनुसार अघिल्लो वर्ष यस्तो निर्यातमा ३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ। त्यस्तै आर्थिक वर्ष २०८१- ८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खबर ४ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.२ प्रतिशत र ३१.७ प्रतिशतले वृद्धि भएको छ ।

    - २०८२ को असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जानाएको छ । आइतबार राष्ट्र बैंकले सार्बजनिक गरेको बार्षिक आर्थिक तथा वित्त स्थितिको विवरण अनुसार कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०८१ को असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । २०८१ को असार मसान्तमा नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

    - आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार १८.०२ अंकले घटेर २७३९. ९५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    - अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो ।

    - आर्थिक वर्ष २०८१-८२ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८१-८२ को देशको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स बढेर १७२३ अर्ब २७ करोड पुगेको छ ।अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १८९ अर्ब ११ करोड रहेको छ । त्यस्तै अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११७ अर्ब ७८ करोड रहेको थियो ।

    १०- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने- 'प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरु मै छोड्न सक्नुपर्छ ।'

    ११- नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि उपराष्ट्रपति सुआनले आजै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेकी थिइन् ।

    १२- अख्तियारल पुर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाई गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरक्षण मुद्रण केन्द्रले अन्त:शुल्क स्टिकर छपाई सम्बन्धी कार्य गराउँदा सोमा संलग्न सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा. बैकुण्ठ अर्याल समेतका १२ जना प्रतिवादीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८१ मङ्सिर १३ गतेको फैसलाबाट केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाई दिएकोले सो फैसला चित्त नबुझी भदौ ८ गते आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिएको छ ।

    १३- उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । आइतबार भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको तथा धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उनीहरुबीच छलफल भएको बताइएको छ ।

    १४- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको हो । सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले अहिले सरकारमा भएकाहरुलाई राजीनामा दिन अशोक राईले निर्देशन दिएका छन् । दुवै मन्त्रीलाई यही भदौ ११ गतेभित्रै राजीनामा दिन राईले निर्देशन दिएको बताइएको छ । भदौ ११ गतेभित्रमा पनि राजीनामा नआए सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीहरु फिर्ता बोलाउने पदाधिकारीको निर्णय गरिएको छ ।

    १५- श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघेलाई डिहाइड्रेसनको समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनको जमानत निवेदन खारेज गरिएको छ। विक्रमसिंघेको जमानत निवेदनमाथिको सुनुवाइको क्रममा उनका वकिलहरूले उनलाई गम्भीर मुटुको रोग, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको बताएका छन् । जमानत निवेदन अस्वीकार भएपछि, उनलाई पहिले जेल अस्पताल, त्यसपछि राजधानी कोलम्बोको अस्पताल लगिएको थियो र त्यसपछि आईसीयूमा सारिएको थियो । विक्रमसिंघेमाथि २०२३ मा क्युबामा भएको जी७७ शिखर सम्मेलनबाट फर्कने क्रममा सरकारी खर्चमा आफ्नो व्यक्तिगत कामको लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप छ ।

    १६- भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । पुजाराले लेखेका छन्- 'भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने - यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु ।' २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका चेतेश्वर पुजाराले १०३ टेस्ट खेलमा ७१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक समावेश छन् । उनको व्यक्तिगत उत्कृष्ट स्कोर २०६ अविजित रहेको छ ।

    १७- गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको छ । आइतबार बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेको छ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादव सहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।

    १८- माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खोलिएको आइपीओ बाँडफाँड गरिएको छ ।आइतबार बिहान १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर बाँडफाँड गरिएको छ । जसमा एक लाख २४ हजार ८९० जनाले १०-१० कित्ता सेयर पाएका छन् । त्यस्तै चार जनालाई एक एक कित्ता सेयर पाएका छन् ।

    १९- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २३५० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।

    २०- नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेलले ३४५ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा मिङमा ग्याबो शेर्पाले ३५९ मत तथा द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३५९ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै महासचिवमा राजेन्द्र लामा ३१८ मत प्राप्त गरेर विजयी भएका छन् भने सचिवमा चन्दन थापा ३५८ मत र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् । मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल काम गर्ने सहमति भएको बताइएको छ । त्यसैगरी सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij