
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । गजकार वसन्त ओली ‘वसन्ती’को गजल संग्रह ‘बोई’ विमोचन हुँदै छ । यही चैत्र १२ शनिबार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलको मिनि प्रेक्षालयमा सो पुस्तकको विमोचन गरिन लागिएको हो ।
गजलकार ओलीका बाजे (हजुरबुवाले) उक्त पुस्तकको विमोचन गर्ने तय भएको सो कार्यक्रममा विपीन घिमिरेको टिमले गजल गाउने तयारी रहेको गजलकार ओलीले जानकारी दिए ।
विगत केही समयदेखि गजलको गायन तथा वाचनमा ‘स्टेज’ चम्काइरहेका गजलकार ओलीका बेजोड गजलले धरैँको मन जितेको छ । उसो त कुनै पनि काव्य जन्मनुमा आफ्नै कारण, कारक र अभिप्राय हुन्छन् । गजलकार ओलीको ‘बोई’ जन्मनुमा पनि आफ्नै कारण छन् ।
गजलकार ओली गजलकार मात्र नभएर फुटवल खेलाडीको रुपमा पनि चिनिन्छन् । निरन्तर प्रयास र प्रयत्न पश्चात् खेलाडी बन्ने सपनाको निकै निकट पुगेका थिए ओली । सपनाको उचाइमा पुग्न पाउँदा नपाउँदै खेलकै क्रममा खुट्टामा गहिरो चोट लाग्यो । दुईपटक सम्म शल्यक्रीया नै गर्नुपर्यो । दन्तेलहर खोलेर मुसुक्क हाँस्दै गजलकार ओली भन्छन्, ‘चोटले गजल जन्माउने रहेछ , गजलले मलाई पनि नयाँ जन्मदियो’ ।
यसरी गजलयात्रामा लागेका ओलीको अढाई वर्ष अघि आफूलाई खुबै माया गर्ने, अति प्रिय मान्छे आफूसँग सदाको लागि छुटेपश्चात् पीडामा झनै पीडा थपियो । पीडामा पीडा थपिएपछि त्यसलाई पोख्ने शसक्त माध्यम गजललाई नै बनाएको गजलकार ओली बताउँछन् । भन्छन्, ‘बोईका यादहरू मस्तिष्कमा ओहोरदोहोर गरिरछन् , ती यादहरूले नै ‘बोइ’ संग्रहको जन्म गरायो’।
नेपाली ठेट भाषा त्यसमाथि पनि मध्यपश्चिम तिर आमा तथा बुवाको आमालाई अर्थात् हजुरआमालाई ‘बोई’ भन्ने चलन छ । ओलीले यहीँ शब्दलाई टपक्कै टिपेर आफ्नो कृतिको ‘न्वारान’ गरेँ । वसन्तीले जन्माएको ‘बोई’ कृति उनकी हजुरआमा ‘बोई’अम्बी ओलीप्रति समर्पित छ ।
‘बोई’ मा नेपाली गजलले बेवास्ता गरेको र अपनाउन नसकेको गजलको अनिवार्य शर्त लय अनुशासनको अदबले सिँगारिएका प्रत्येक सेर ओजिला छन् । गजलका हरेक अनुशासनलाई इमान्दारिताका साथ निभाइएको छ । बोईले नेपाली गजलको परम्परागत विषय, बिम्ब, प्रतीक र उपमाको आयाम फराकिलो पारेको छ ।
बोईमा कैयौँ नियमहरू आफै निर्माण गरिएका छन् । परीक्षाको लागि पनि हुनसक्छ, ती नियमहरू गजलको चलिआएका लयका अभ्यासभन्दा धेरै जटिल र दुरूह छन् । यति विघ्न जटिल लयमा पुग्दा पनि सेर कतै कमजोर हुन दिइएको छैन ।
माया प्रेम, देशभक्ति र सामाजिक यथार्थता लगायत विषयका १०१ वटा गजल बहरबद्ध गजलहरू र केही पृष्ठहरूमा बोईसँग घटेका केही मार्मिक शब्दहरूमा बोईको कथा गजलसङ्ग्रह ‘बोई’ मा समेटिएको छ । गजलको पाण्डुलिपी पढेपश्चात् एक अग्रजले लेखेका छन् । ‘बोई’ भित्रका गजलहरू शब्दका थुप्रा हैनन् । बिजुलीको तारमा दौडिरहेको उच्चतापको करेन्ट नै हुन् भन्दापनि फरक पर्दैन । हामीले देखिरहेका, भोगिरहेका, बुझिरहेका र अनुभव गरिरहेका कुराहरूलाई बोईमा टपक्क टिपिइएका र गजलका सेरमा चटक्क मिलाएर उनिएका छन् । कुरोलाई सटिक र भनाइलाई अर्थपूर्ण किसिमले गजलबाट व्यक्त गर्नु ‘बोई’मा भएका गजलहरूको विशेषता हो ।’
विसं २०६९ सालमा उपन्यास ‘तिर्सना’बाट नेपाली साहित्यमा बामे सरेका वसन्त ओली वसन्तीको ‘बोई’ दोश्रो कृति हो । जसलाई बुलबुल पब्लिकेशनले प्रकाशन र सफल पब्लिकेशनले वितरण गर्ने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij