Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । मधेस प्रदेशमा २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनसम्बन्धी सेवा अब प्रदेश सरकारबाटै उपलब्ध हुने भएको छ।
उद्योग विभागबाट मधेस प्रदेशका १८८ उद्योगका अभिलेख प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छ। अब ती उद्योगसम्बन्धी सबै सेवा प्रदेशबाटै सञ्चालन गरिने मधेस प्रदेश सरकारअन्तर्गत उद्योग विभाग वीरगञ्जकी निमित्त निर्देशक रीना साहले बताइन्।
उनका अनुसार हस्तान्तरण भएका फाइलहरूको अध्ययन भइरहेको छ। प्रारम्भिक चरणमा उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत सेवा कार्यालयबाटै सञ्चालन गरिने र त्यसपछि अनलाइन प्रणालीमार्फत सेवा विस्तार गरिने तयारी छ।
प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले संघीय शासनको मूल उद्देश्य सेवा प्रवाहलाई नागरिकको नजिक पुर्याउनु भएकाले उद्योग प्रशासन प्रदेशबाटै सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार यसबाट प्रशासनिक दक्षता बढ्नुका साथै प्रदेशमै उद्योगमैत्री नीति कार्यान्वयन, लगानी प्रवर्द्धन, उद्यमशीलता विकास र रोजगारी सिर्जनाका कार्यक्रम स्थानीय आवश्यकताअनुसार अघि बढाउन सहज हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij