Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’, ‘असान्दर्भिक’ र ‘वैचारिक रूपमा अपरिपक्व’ भएको टिप्पणी गरेका छन्।
आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पुनले निर्वाचनका बेला संघीयता सुदृढ गर्ने प्रतिबद्धता जनाउँदै आएको रास्वपाले अहिले महाधिवेशनमार्फत प्रदेश सभा खारेजीको प्रस्ताव अघि सार्नु जनमतमाथिको धोका भएको दाबी गरे।
उनले रास्वपाभित्र नै संघीयताबारे स्पष्ट धारणा नरहेको उल्लेख गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिने तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेज गर्ने विषय समेटिनुले पार्टीभित्र वैचारिक द्वन्द्व र अपरिपक्वता देखिएको बताए।
पुनले संघीयता र लोकतन्त्र हजारौँ नागरिकको बलिदानबाट स्थापित व्यवस्था भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास ‘आगोसँग खेल्नु’ सरह हुने चेतावनी दिए।
उनले भने, “प्रधानमन्त्रीकै उपस्थितिमा जनकपुर, सुदूरपश्चिम र कर्णालीमा संघीयता बलियो बनाउने भाषण गर्ने, तर महाधिवेशनमा पुगेर प्रदेश खारेजीको प्रस्ताव ल्याउनु द्वैध र अवसरवादी चरित्र हो। प्रदेश सभाविहीन संरचना भनेको विगतको एकात्मक व्यवस्थातर्फ फर्किनु हो। संघीयताको मर्म जनताले निर्वाचित गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्नु हो, केवल प्रशासनिक इकाइ कायम गर्नु होइन।”
पुनले नयाँ राजनीतिक संस्कारको दाबी गर्ने रास्वपाका पछिल्ला अभिव्यक्ति र गतिविधिले भने लोकप्रियतावाद र वैचारिक अपरिपक्वता मात्र उजागर गरेको आरोपसमेत लगाए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij