Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैँ जोखिमयुक्त रहेको सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए ।
सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको ढकालले बताए । लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले उल्लेख गरे ।
‘गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेका छौँ, केही समय लाग्नसक्छ,’ ढकालले भने ।
यस्तै मेची राममार्गको रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेर सडक खवरुद्ध भएको प्रहरीले जनाएको छ । यो खण्डमा पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए ।
सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij