
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । काठमाडौँ महानगरपालिकाले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ ।
कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।
आज प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि केहीको मृत्यु भएको छभने थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।
धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ ।
अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकताअनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताए ।
अस्पताल जानका लागि मात्रै होइन आवश्यकताअनुसार बिरामीको उपचार खर्चसमेत ब्यहोर्ने कामपाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शङ्खमुख क्षेत्रमा कुफ्र्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी नै राखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij