दक्षिण कोरियाको कानुनअनुसार १५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले सरकारी चुनावी खर्च फिर्ता पाउने व्यवस्था छ। तर निर्वाचनसम्बन्धी कानून उल्लंघनमा दोषी ठहरिएर निश्चित सीमाभन्दा बढी सजाय वा जरिवाना भएमा त्यो रकम फिर्ता गर्नुपर्ने प्रावधान छ।
अदालतले युनले जनवरी २०२२ मा दिएको एक अन्तर्वार्तामा आफू र एक भविष्यवक्ताबीचको सम्बन्धका विषयमा झुटो अभिव्यक्ति दिएको ठहर गरेको छ। ती व्यक्तिलाई पछि युनकी पत्नी किम केओन ही र युनिफिकेसन चर्चबिच मध्यस्थकर्ताको भूमिका खेलेको तथा राजनीतिक लाभका लागि घुससम्बन्धी आरोपमा दोषी ठहर गरिएको थियो।
त्यस्तै अदालतले डिसेम्बर २०२१ को पत्रकार सम्मेलनमा पनि युनले आफू राज्य अभियोजक हुँदा भ्रष्टाचार अनुसन्धानमा रहेका एक पूर्व कर अधिकारीलाई प्रतिरक्षा कानून व्यवसायीसँग परिचय गराएको आरोप अस्वीकार गर्दै झुटो बयान दिएको निष्कर्ष निकालेको छ।
यो मुद्दा हिरासतमा रहेका युनविरुद्ध दायर सात आपराधिक मुद्दामध्ये एक हो। उनलाई सन् २०२४ डिसेम्बरमा संक्षिप्त अवधिका लागि सैनिक शासन (मार्सल ल) घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटका कारण सन् २०२५ अप्रिलमा राष्ट्रपतिको पदबाट हटाइएको थियो।
युनविरुद्ध विद्रोहलगायतका गम्भीर अभियोगसमेत लागेका छन्। असफल रूपमा सत्ता नियन्त्रणको प्रयाससँग सम्बन्धित विद्रोह मुद्दामा उनलाई यसअघि आजीवन कारावासको सजाय सुनाइएको थियो, जसविरुद्ध पनि उनले पुनरावेदन गरेका छन्।
यसै महिनाको सुरुमा दक्षिण कोरियाको सर्वोच्च अदालतले मार्सल ल घोषणा गर्नुअघि मन्त्रिपरिषद्को वैधानिक छलफल नगरेको तथा आफूलाई पक्राउ गर्ने प्रयासको प्रतिरोध गरेको मुद्दामा सुनाइएको सात वर्षको जेल सजायलाई पनि सदर गरेको थियो।
युनले सन् २०२४ डिसेम्बर ३ मा राति अचानक मार्सल ल घोषणा गरेका थिए। तर केही घण्टामै सांसदहरूले राष्ट्रिय सभामा पुगेर उक्त निर्णय खारेज गरेपछि सरकार त्यसलाई फिर्ता लिन बाध्य भएको थियो। यही घटनाले दक्षिण कोरियामा दशकौँयताकै गम्भीर राजनीतिक संकट निम्त्याएको मानिन्छ।


