Jul 26 2026 | २०८३, साउन १० गते
रिता कोइराला
ललितपुर
ललितपुरको अति व्यस्त सडक खण्ड, कुपण्डोलमा रहेको एउटा सानो खाल्डो स्थानीय र दैनिक यात्रा गर्ने मोटरसाइकल चालकका लागि ठूलो 'त्रासदी' बनिरहेको छ। सडकको छेउमा पानी जमेको स्थानमा गहिरो खाल्डो छ, जहाँ वर्षाको समयमा पानी भरिएपछि यसको गहिराइको अन्दाज गर्न नसक्दा दर्जनौं मोटरसाइकल चालकहरू दुर्घटनामा परिसकेका छन्।
दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने यो सडकमा पानी जमेको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित भई ढल्ने क्रम जारी छ। चालकहरू सामान्य घाइते हुने गरेका छन् भने मोटरसाइकलमा क्षति पुगेको छ। खाल्डोको पानी छ्यापिँदा पैदलयात्रीहरू पनि उत्तिकै समस्यामा छन्।
यो सडकमा पानी जमेको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित भई ढल्ने क्रम जारी छ।
यो जोखिमपूर्ण खाल्डोबाट केही मिटरको दूरीमा नै कुपण्डोल प्रहरी चौकी अवस्थित छ। ट्राफिक प्रहरी र प्रहरीको नियमित गस्तीसमेत त्यहाँबाट भइरहे पनि सम्बन्धित निकायले यसलाई देख्न सकेको छैन। दिनहुँ हुने दुर्घटनाहरू नजिकैबाट देख्दा पनि सडक मर्मतका लागि कुनै पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन्। यो समस्या सामान्य खाल्डो जस्तो मात्र देखिएपनि मानवीय जीवनसँग जोडिएको छ।
स्थानीय निकाय, सडक डिभिजन कार्यालय ललितपुर र सम्बन्धित वडा कार्यालयलाई यो गम्भीर अवस्थालाई तत्कालै सम्बोधन गर्नुपर्ने आवश्यकता देखिन्छ । यदि समयमै यो समस्याको समाधान नभए कुनै ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना प्रबल छ।
तस्वीर : संस्कार श्रेष्ठ
अहिलेलाई एउटा अस्थायी सूचनामूलक बोर्ड र ब्यारिकेड राखेर तत्कालका लागि दुर्घटना रोक्न सकिन्छ, तर दीर्घकालीन समाधानका लागि सडकको सो खाल्डो पुर्न आवश्यक छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij