Jul 26 2026 | २०८३, साउन १० गते
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै 'पेपर लीक' गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्।
यो कदम गत मे ३ मा भएको नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि उत्पन्न आक्रोशलाई साम्य पार्न चालिएको हो। यस विषयलाई लिएर दिल्लीको जन्तरमन्तरमा 'ककरोच जनता पार्टी' ले प्रदर्शन गरिरहेको छ भने सामाजिक अभियन्ता सोनम वाङचुकले पनि अनशन बसेर विरोध जनाएका थिए।
प्रधानमन्त्रीका अनुसार सम्बन्धित विभागहरूले तयार पारेको मस्यौदामा फास्ट ट्रयाक कोर्ट र कठोर सजायका प्रावधानहरू समावेश छन्। यस मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ। नयाँ कानुनले प्रश्नपत्र बाहिरिने घटनामा संलग्न गिरोहलाई १० वर्षसम्मको जेल र १ करोड भारुसम्मको जरिवाना गर्न सक्ने प्रावधान राख्ने तयारी गरिएको छ।
सरकारले पेपर लीक प्रकरणलाई गम्भीरतापूर्वक लिँदै शिक्षा मन्त्रालयमा ठूलो प्रशासनिक फेरबदल समेत गरेको छ। बिहीबार १७ जना वरिष्ठ अधिकारीहरूको सरुवा र बढुवा गरिएको छ।
यसैबिच प्रधानमन्त्री मोदीको मध्यरातको भिडियो सन्देशलाई विपक्षी नेता राहुल गान्धीले व्यर्थको भिडियो भन्दै आलोचना गरेका छन्। गान्धीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'मिस्टर मोदी, विद्यार्थीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। मध्यरातमा यस्ता भिडियो हालेर उनीहरूको बुद्धिको अपमान नगर्नुहोस्। मन्त्रीलाई हटाउनुहोस् र विद्यार्थीहरूसँग माफी माग्नुहोस्।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij