ललितपुरको महाँकाल गाउँपालिकामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो। स्कार्पियोमा चालकसहित ६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था मध्यम रहेको छ।
दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता तथा एसपी गौतम मिश्रले अनलाइन पत्रिकालाई जानकारी गराउनुभयो ।
बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरू:
१. जिल्ला काठमाडौंको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा।
२. जिल्ला नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय भरत पौडेल।
३. जिल्ला बर्दिया घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा।
४. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे।
मानिखेल स्वास्थ्य चौकीमा उपचाररत घाइते:
१. जिल्ला काठमाडौंको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जन।