Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यावसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।
रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो ।
जेष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्यांकन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले संगठनको बृत्तिविकास र सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास गरिएको सह प्रवक्ता डिएसपि शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोश्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरुू तेश्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट जेष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्यांकनलाई समेत आधार मानेर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरू ९औं ब्याचका रहेका छ्न् ।
मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पस गर्न भनिएको थियो ।
बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij