Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

४५ वर्षअघि देखि अन्न नखाएका ‘नेपाली बाबा’को निधन

४५ वर्षअघि देखि अन्न नखाएका ‘नेपाली बाबा’को निधन

  • काठमाडौँ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।

    images
    images
    images

    पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ । त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ ।  

    विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एक महिनासम्म यज्ञ गराउनुभएको थियो । महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उहाँ पैदल यात्रा गर्नुभएको थियो । महायज्ञ सकेर घिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आउनुभएको थियो । शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेको विश्लेषण त्यसबेला गरिएको थियो । विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो ।

    विश्व शान्ति अभियानमा उहाँको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक सङ्घका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँले राससलाई जानकारी दिनुभयो । विसं २०४५ मा उहाँले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गर्नुभएको थियो । विसं २०४८ मा मुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उहाँले सम्पन्न गर्नुभएको सङ्घले जनाएको छ । 

    कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको छ । विसं २०६१ मा उहाँले देशमा जारी द्वन्द्व अन्त्यका लागि सङ्घको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गर्नुभएको थियो । साधक घिमिरेले यज्ञ र पदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गर्नुभएको जनाइएको छ । 

    उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । बनारसमा साधनाका लागि बस्दा उहाँ नेपाली बाबाका नामले चिनिनुभएको थियो । त्यसपछि उहाँ नेपाली बाबा उपनामले प्रख्यात हुनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij