Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

लेहङ्गा चोलीको कारोवारबाट मनग्य आम्दानी

लेहङ्गा चोलीको कारोवारबाट मनग्य आम्दानी

  • राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर । कैलाली टीकापुर नगरपालिका–१ का राजबन्धु चौधरी थारु समुदायका महिलाहरुले लगाउने परम्परागत पहिरन लेहङ्गा चोलीको कारोवार गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । थारू समुदायको बाहुल्य रहेका बस्तीमा पुगेर युवायुवतीलाई परम्परागतरूपमा महिलाले लगाउने लेहङ्गा, चोली, फुलौरा कटौतीलगायत कुन चाडपर्वमा कसको के महत्व छ त्यसबारेमा समेत जानकारी दिने काम गर्नुहुन्छ । 

    कैलाली कञ्चनपुरका माग भएका थारू बस्तीमा आफैँ पुगेर परम्परागत पहिरन बेच्ने काम गर्नुहुन्छ । बूढापाकाबाट लेहङ्गा चोली बनाउने सीप सिकेर उहाँले घरमै लघुउद्योग सञ्चालन गर्नुभएको छ । उहाँको उद्योगमा १२ जनाले रोजगारी पाएका छन् । महिनामा ४० देखि ५० सम्म लेहङ्गा चोली तयार हुने गरेको छ । यसबाट मासिक रु ५० हजार बढी कमाइ हुने गरेको छ । एक लेहङ्गा चोली रु तीन हजारदेखि रु १० हजारसम्ममा बिक्री हुने गरेको छ ।

    “थारू समुदायका महिलाले चाडपर्व, विवाह र अन्य धार्मिक कार्यमा लगाउने परम्परागत पहिरनको माग धेरै छ”, उहाँले भन्नुभयो, “बनाउने व्यक्ति थोरै छन् । यसै कुरालाई मध्यनजर गरी बूढापाकाबाट कपडा बनाउने कला सिकेर मागअनुसार आवश्यकता भएका व्यक्तिका घरदैलोमा पुर्याउँदै आएको छु ।” चार वर्षदेखि चौधरीले सितारा, मोती, घुघँरु, लेसलगायत जडित लेहङ्गाा चोली बनाउने काम गर्दै आउनुभएको छ । “माग धेरै छ”, लेहङ्गा चोली बेच्नका लागि कञ्चनपुरको जोनापुर गाउँ पुगेका चौधरीले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमणका कारण कपडा र त्यसमा जडान हुने सामान पाउन मुस्किल हुँदा थारै मात्रै उत्पादन भइरहेको छ । उत्पादित पम्परागत कपडा हाताहात बिक्री भइरहेको छ ।”

     सामाजिक सञ्जाल र युट्युबलगायतले थारू महिलाले लगाउने परम्परागत पहिरनको महत्व बढाएकाले युवतीहरूले यस्ता कपडाको माग गर्न थालेका छन् । आधुनिक रहनसहन र जीवनशैलीका कारण थारू समुदायका परम्परागत पहिरन हराउँदै जान थालेका थिए । थारू समुदायका संस्कृतिका भिडियो चलचित्रमा परम्परागत पहिरनको व्यापक प्रयोग हुन थालेपछि हराउँदै गएका कपडा लगाउने ‘क्रेज’ बढ्न थालेको हो ।

    “थारू समुदायका तन्नेरी युवतीले यस्ता कपडाको बढी माग गर्दै आएका छन्”, चौधरीले भन्नुभयो, “कपडा उपलब्ध गराउने कार्यसँगै घरदैलोमै पुगेर यसको महत्व र विशेषताबारे जानकारी दिने गरेका छौँ । पुस्तौँदेखि चलनचल्तीमा रहेका कपडा जोगाउनकै लागि यस व्यवसायमा लागेको हूँ ।” कुन थारू समुदायका चाडपर्वमा नाचिने नाचमा यस्ता पहिरनको प्रयोग हुन्छ उहाँले यसबारे समेत बताउने गर्नुभएको छ ।

    चौधरी परम्परागत कपडा बनाउने लघुउद्योग खोलेर युवालाई रोजगारीसँगै संस्कृतिबारे जानकारी दिनका लागि सङ्गठितरूपमा लाग्नुभएको छ । उहाँ थारू समुदायका हराउँदै गएका मौलिक गीतको जगेर्ना गर्ने काममा समेत संलग्न हुनुहुन्छ । पौराणिक थारू लोकसांस्कृतिक धमार, सजना हमार परिवार नामक संस्थामा समेत आबद्ध हुनुहुन्छ । सो संस्थामा २० वर्षे युवादेखि ६० वर्षसम्मका १४ ज्येष्ठ नागरिक आबद्ध रहनुभएको छ । स्वास्थ्यकर्मी, व्यापारी र मजदुर पनि आबद्ध छन् । बूढापाकाबाट तन्नेरीले खेतीपाती गर्दा, मेलापात जाँदा, हिउँदको चिसोमा बस्दा र चाडपर्वका बेला गाइने सुरिला मौलिक गीत सिक्ने र सिकाउने काम संस्थाका माध्यमबाट हुने गरेको छ ।
     
    संस्थामा आबद्धहरुले आफँैले परम्परागत वाद्यवाधनको प्रयोग गरी पुराना गीतलाई लिपिबद्ध गर्नका लागि एल्बम निकाल्ने कार्यमा समेत लागेका छन् । “जुन गाउँमा थारू समुदायका महिलाले लगाउने परम्परागत कपडा बिक्री गर्नका लागि जान्छु त्यहाँबाट बूढापाकाबाट गीत भन्न लगाउँछु । गीतका बोल टिपेर परम्परागत लयमै स्वर दिई एल्बममा लिपिबद्ध गर्ने कार्य गर्दै आएको छु”, चौधरी भन्नुहुन्छ, “थारू महिलाका लागि परम्परागत कपडा बनाउने कार्य गर्दा एकातर्फ संस्कृति जोगिएको छ भने अर्कोतर्फ मेरा लागि परिवार पाल्ने गतिलो माध्यम बनेको छ । थारू समुदायको घरदैलोमै कपडा बेच्न जाँदा पुराना गीत सङ्कलन गरी स्वर दिएर जीवन्त राख्ने कामसमेत हुने गरेको छ ।”

    हालसम्म आधा दर्जन बढी धमार र सजना गीतमा स्वर दिइसकेको उहाँले बताउनुभयो । चौधरीको ‘गोरी चले ससुराल’ गीत थारू समुदायमा चर्चित छ । संस्थामा आबद्ध सबै जनाले धेरै हराउँदै गएका गीतको खोजी गरी स्वर दिएका छन् । संस्थाको सञ्जाललाई कैलाली र कञ्चनपुरका थारू समुदायको बसोबास रहेका गाउँगाउँमा पुर्याएर संस्कृति संरक्षणमा टेवा पुर्याउने उहाँको लक्ष्य छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij