Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । रामपुरको पचास शैय्याको अस्पताल एक चिकित्सकको भरमा सञ्चालन हुँदै आएको छ । गर्मीको समय भएको कारण बिरामीको चाप बढ्दो छ। एकै पटक अस्पतालको चिकित्सकले सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ।
“जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापीलगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उनले भने।
हाल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दाबढी नै छन्। एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिण्टेडेण्ट डा परियारको गुनासो छ।
रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्योपचार सेवा लिने थलो हो। कालीगण्डकी वेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्वनवलपरासी (नवलपुर)का नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन्। तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ।
कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकालले बताए।
पचास शैय्याकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन। रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधि उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij