Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काभ्रे : मिर्गौला तस्करहरुको 'डेस्टिनेशन प्वाइन्ट'

काभ्रे : मिर्गौला तस्करहरुको 'डेस्टिनेशन प्वाइन्ट'

  • काठमाडौं/ यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपियाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट छुट्टिएको सुनाए ।

    onlinepatrika
    Arghakhachi

    मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गौलाकै विषयमा पटक–पटक कुरा गर्ने गरेको पाँचखाल नगरपालिका–७ जोर पिपलस्थित लामीडाँडा–पलाञ्चोक सडकखण्ड छेउ निवासी एक महिलाले बताइन्। “अहिले यस्तो कुरा नगर्नुस्, मिर्गौलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेको छौँ भनेपछि भाग्छन्”, ती महिलाले भनिन् । उनका अनुसार स्थानीय जनप्रतिनिधिद्वारा त्यस्ता शङ्कास्पद व्यक्ति बस्तीमा आए तत्कालै खबर गर्न भनिएको छ ।

    AGNI GROUP

    पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्यरूपमा अझै पनि मिर्गौला बेचबिखनका विषयमा कुराकानी गर्न जाने गरेको स्थानीयवासी बताउँछन् । “मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ”, पाँचखाल–८ का वडाध्यक्ष पुष्कार ढकालले भने । उनले फोन आए नम्बर र व्यक्ति स्वयं आएर गाडी नम्बरसमेत उपलब्ध गराउन अनुरोध गरिएको बताए ।

    मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणले देखाएको पाइन्छ । जिल्लाको होक्से र ज्याम्दी दुई दशकदेखि ‘बैंक अफ किड्नी’को नामले देश–विदशेमा बदनामी कमाएको क्षेत्र पर्दछन् । पछिल्लो वर्ष मिर्गौला बेच्नेहरू नै यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही आएको देखिन्थ्यो । तर, यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएका छन् ।

    गत साउन अन्तिम साता बनेपा प्रहरीले बनेपा नपा–५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा काभ्रेपलाञ्चोककै तीन जनालाई पक्राउ गर्यो । उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गौला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । घटनाक्रमले भने जिल्लामा मिर्गौला तस्कर पुनः सक्रिय भएको देखाएको छ ।

    उक्त घटनामा भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गौला तस्करीमा संलग्न रहेको जनाउँदै पक्रेको हो । आरोपितले ती युवाको एउटा मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै तस्करले निशानामा पारेका उनै युवाको जाहेरीपछि प्रहरीले तस्करीको खोजबिन थालेको थियो ।

    काभ्रेबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले काभ्रे जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय पुरुषलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुरका ५१ वर्षीय एक पुरुषलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । तर प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानुनी कारबाही गरेको थियो ।

    जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरूको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ । विशेषगरी, शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । घटना विवरणअनुसार काभ्रेको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्षअघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए ।

    १९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गौला बिक्रीपछि दुखाई काम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि सकेको बताउछन् । “अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उनले भने । उनलाई ‘तस्कर’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको थियो ।

    केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनाधिकार संरक्षण मञ्च (पिपीआर)नामक संस्थाको प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख छ । उसको प्रतिवेदनमा यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

    मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ । नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ मा नाता पर्ने प्रायः सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त ऐनले दुई वा दुईभन्दा बढी परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij