Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुदूरपश्चिमः प्रहरीलाई थुनुवा राख्ने कोठा नहुँदा समस्या

सुदूरपश्चिमः प्रहरीलाई थुनुवा राख्ने कोठा नहुँदा समस्या

  • काठमाडैं । सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरीचौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको बताइएको छ । विगतको सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरीचौकी अहिलेसम्म पनि पुनःनिर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा प्रहरीका आफ्नै भवन नहुँदा थुनुवा राख्न समस्या हुने गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी एकाइमध्ये हालसम्म १५ भवन मात्रै निर्माण भएका छन् । केही निर्माणका क्रममा रहेका कारण थुनुवा राख्न झनै समस्या भएको छ । 

    images
    images
    images

    यसरी पुनःनिर्माण भएका प्रहरीचौकीमा अछामको इलाका प्रहरी कार्यालय बयलपाटा र विनायक, डोटीमा इलाका प्रहरी कार्यालय बिपीनगर, इलाका प्रहरी कार्यालय दिपायल, प्रहरीचौकी वायल र प्रहरीचौकी बोगटान, डडेल्धुरामा प्रहरीचौकी पोखरा, कैलालीमा इलाका प्रहरी कार्यालय फल्टुडे र इलाका प्रहरी कार्यालय चौमाला, कञ्चनपुरमा इलाका प्रहरी कार्यालय झलारी, बैतडीमा इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तस्सोदेही, बाजुरामा प्रहरीचौकी तिल्लिचौर, दार्चुलामा सीमा प्रहरीचौकी लाली र इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा बझाङमा प्रहरीचौकी मेलबिसौना छन् ।    

    थुनुवा राख्ने ठाउँ नभएका कारण यहाँका अधिकांश प्रहरीचौकीका प्रहरीले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय प्रहरीचौकीमा अहिलेसम्म पनि थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् ।” 

    कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुने भएकाले पनि थुनुवा राख्ने ठाउँ भएका प्रहरीचौकीमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक लालबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “कयौँ प्रहरी कार्यालय पुनःनिर्माण गरिएका छैनन्, निर्माण भएका ठाउँमा पनि थुनुवा राख्ने ठाउँ कमी हुने भएकाले झन समस्या हुने गरेको छ ।”पुरानो क्षेत्रीय दरमुकाम दिपायलस्थित इलाका प्रहरी कार्यालय पियलमा थुनुवा कोठाको अभावमा समस्या हुँदै आएको प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ प्रहरी भवन निर्माण प्रक्रियामा छ, हामी विमानस्थलमा सरेका छौँ, यहाँ हिरासत नभएका कारण थुनुवा राख्न समस्या भएको छ, थुनुवा राख्ने ठाउँ नहुँदा हामी जिल्ला प्रहरी कार्यालय पठाउन बाध्य छौँ ।” यति मात्र नभइ यहाँका प्रहरी चौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएका कारण पनि प्रहरीलाई झनै समस्या हुँदै आएको बताइएको छ ।

     जिल्लाको जोरायल, विपीनगर, बायल, बोगटान तथा जिल्ला प्रहरी कार्यालय बाहेक अन्य क्षेत्रमा रहेका प्रहरीचौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी चौकीमा महिला र पुरुष थुनुवा राख्ने अलग्गै हिरासत कक्ष बनाउनुपर्ने नेपाल प्रहरीको मापदण्ड भए पनि यहाँका ग्रामीण क्षेत्रका स्थानीय तहमा निर्माण भएका चौकीमा महिला हिरासत कक्ष नभएकाले कुनै कारण बस महिला बन्दी थुन्नु परे समस्या उत्पन्न हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो ।

     उहाँले भन्नुभयो, “इलाका तथा प्रहरीचौकीमा अनिवार्य महिला हिरासत राख्नुपर्ने मापदण्ड तोकिएको छ तर कतिपय प्रहरीचौकीमा महिला थुनुवा कक्ष नहँुदा समस्या भएको छ, महिला थुनुवा कक्ष निर्माणका लागि हामीले पहल गरिरहेका छौँ ।” प्रत्येक प्रहरी युनिटमा महिला पुरुष थुनुवा कक्ष अलग्गै हुनुपर्ने तथा शौचालयसमेत सोहीभित्र निर्माण गरिनुपर्ने प्रहरीको मापदण्डमा भए पनि सुदूरपश्चिमका अधिकांश प्रहरी युनिटमा यो लागू नभएको पाइएको छ ।

    प्रहरी अस्पतालमा भिडियो एक्सरे मेसिन 

    सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलो पटक भिडियो एक्सरे मेसिन प्राप्त भएपछि बिरामीको चेकजाँच तथा उपचारमा सहज भएको छ । स्थापनाकालदेखि भिडियो एक्सरे नहुँदा उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य जाँचका लागि निकै सास्ती हुँदै आएको थियो । भिडियो एक्सरे गर्नकै लागि नेपाल प्रहरी तथा उनीहरुका परिवारका बिरामी हजारौँ खर्चेर कैलाली तथा काठमाडौँ जान बाध्य थिए । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ जोशी गाउँका स्थानीयवासी तथा समाजसेवी भक्तराज जोशीले आफ्नो व्यक्तिगत लगानीमा भिडियो एक्सरे मेसिन खरिद गरेर निःशुल्क प्रदान गरेपछि अहिले प्रहरी अस्पताललाई बिरामीको उपचार गर्न सहज भएको हो ।

    उक्त अस्पताललाई जोशीले रु छ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन र प्रिन्टर निःशुल्क प्रदान गर्नुभएको हो । निःशुल्क प्रदान गरिएको भिडियो एक्सरे मेसिनबाट बिरामीको स्वास्थ्य जाँच गर्नमा निकै सहयोग पुगेको प्रदेश प्रहरी अस्पताल दिपायलका निमित्त प्रमुख डा भीमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “भिडियो एक्सरे नहुँदा यहाँका प्रहरीदेखि अन्य नागरिकलाई उपचार गर्न समस्या भएको थियो, भक्तराजको सहयोगमा मेसिन पाउँदा सहज भएको छ ।” प्रहरी अस्पतालमा भिडियो एक्सरे मेसिन नहुँदा विगतमा भिडियो एक्सरे गर्नुपर्ने प्रहरीका बिरामीलाई नेपाल प्रहरीको केन्द्रीय अस्पताल महाराजगञ्जमा पठाउनुपर्ने अवस्था भएको प्रदेश प्रहरी अस्पताल दिपायलका सूचना अधिकारी तथा प्राविधिक प्रहरी नायब निरीक्षक खड्कबहादुर भुत्यालले जानकारी दिनुभयो । 

    अस्पतालमा भिडियो एक्सेर मेसिन जडान गरिएपछि अहिले प्रहरी तथा उनीहरुका परिवार र स्थानीय बिरामी दैनिक भिडियो एक्सरे गर्न आउन थालेको अस्पतालका निमित्त प्रमुख डा बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“भिडियो एक्सरे मेसिन जडान भएपछि बिरामीको सङ्ख्या पहिलेको भन्दा निकै बढेको छ, हामीलाई पनि स्वास्थ्य जाँचमा सहज भएको छ ।” 

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले समाजसेवी जोशीले गर्नुभएको भिडियो एक्सरे तथा प्रिन्टर सहयोगले यहाँका प्रहरी, उनीहरुका परिवार तथा स्थानीयवासीलाई उपचारका लागि निकै सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीसहित अन्य नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि जोशीले भिडियो एक्सरेसहितका सामग्री प्रदान गर्नुभएको छ, जो आफैंमा अति राम्रो काम हो, उपचारमा सबैलाई सहज भएको छ ।”

    नगर प्रहरीलाई आधारभूत तालीम

    दिपायल सिलगढी नगरपालिकाले हालै भर्ना गरेका नगर प्रहरीलाई आधारभूत तालीम दिन शुरु गरेको छ । नगर क्षेत्रभित्रको शान्तिसुरक्षा तथा बजारमा हुने गैरकानूनी कार्य रोक्नका लागि भर्ना गरिएका नगर प्रहरीका ६ जनालाई नेपाल प्रहरीको सहयोगमा विशेष आधारभूत तालीम सञ्चालन गरेको हो । 

    नगरपालिकाले जिल्लामा पहिलो पटक नगर प्रहरी भर्ना छनोट गरी उक्त तालीम दिन शुरु गरेको हो । नगर प्रहरीमा भर्ना भएकालाई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालीम दिन शुरु गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो पटक नगर प्रहरी भर्ना गरेका छौँ, नेपाल प्रहरीको सहयोगमा उनीहरुलाई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालीम दिदैछौँ ।” नयाँ भर्ना भएका नगर प्रहरीले नगरक्षेत्रभित्र बिना दर्ता सञ्चालन भएका पसल, मदिरा नियन्त्रणलगायतका विषयमा केन्द्रित हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij