
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर/ भक्तपुरमा बालबालिकाका लागि आइसियु सेवा सञ्चालन हुने भएको छ । अस्पताल स्थापना भएको ११९ वर्षपछि फागुन १ गते आइतबारदेखि बालबालिकाका लागि आइसियु सेवा सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताइन् । उनले भनिन्, “प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ ।”
आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले जानकारी गराइन् । आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ । तीन वर्ष अगाडिसम्म आइसियु नै नभएको भक्तपुर अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा छ ।
मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आइसियु अरु बिरामीका लागि प्रयोग भइरहेको छ । आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आइसियु सञ्चालन हुनेछ । डा गौतम भन्छिन्, “भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ ।”
नेपालमा कोरोनाको पहिलो लहर सुरु भएपछि भक्तपुर अस्पतालमा डा गौतमले ६ शय्याको आइसियु सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार सुरु गरेकी थिइन् । अस्पतालले अक्सिजनसमेत उत्पादन सुरु गरेको छ । अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरु गर्नेछ । उनले भनिन्, “फागुन २ गतेदेखि दैनिक १५० सिलिण्डर ग्याँस अक्सिजन उत्पादन सुरु गर्दैछौँ, लिक्विड र ग्याँस गरेर २०० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ, अब अक्सिजनको अभाव हुँदैन, हामी अरु अस्पताललाई पनि अक्सिजन दिन सक्छौँ ।”
भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिण्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको हो । कोरोना सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम बढ्दै गएपछि अस्पतालमा अल्जाइमरको सेवासमेत सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले सेवा विस्तार गनुका साथै बेरुजु शून्यमा झारेको छ । मेसु डा गौतम आएपछि भक्तपुर अस्पतालमा भएको सुधारकै कारण अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ बाट ८२ पु¥याउन सफल भएपछि बागमती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कारसमेत पाउन सफल भएको छ । तीन वर्ष अगाडिसम्म रिफर सेन्टरको रुपमा परिचित यस अस्पतालमा अस्पतालमा दैनिक ८० देखि १५० जनासम्म बिरामी आउने गरेकामा अस्पतालको सेवामा सुधार भएपछि दैनिक ७५० देखि ८०० बिरामी आउन थालेका छन् ।
अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा नयाँ निर्माण गर्न सकिएको छैन । साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij