Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपालगञ्ज समाचारः भूमिहीन र अव्यवस्थित बसोबासीको लगत लिइँदै

नेपालगञ्ज समाचारः भूमिहीन र अव्यवस्थित बसोबासीको लगत लिइँदै

  • बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ । अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधि २०७७ अनुसार कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले उक्त प्रयोजनका लागि चालू आर्थिक वर्ष २०७७÷७८ को पारित वार्षिक बजेटबाट  कार्यालय स्थापना गर्नका लागि रु २५ लाख विनियोजन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

    images
    images
    images

    बसोबासका लागि सरकारी जग्गा खोजी तथा संरक्षण शीर्षकमा रु १० लाख, अध्यक्षको सिफारिस कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा रु १० लाख र उपाध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा रु पाँच लाख छुट्याइएको प्रशासकीय शाहीले जानकारी दिनुभयो । गाउँपालिकाको १ देखि ६ नम्बर वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न वडा नं ४ मा  कार्यालय स्थापना गरिएको छ । कार्यपालिका बैठकले  कार्यालयको प्रमुख गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत अधिकृत विजयकुमार यादवलाई तोक्ने निर्णय पनि आइतबार गरेको छ । 

    प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार सो एकाइ कार्यालयमा खटाइने अन्य कर्मचारीको व्यवस्थापन पनि गरिएको छ । अमिनको रुपमा गाउँपालिकामै कार्यरत अमिन धनराज कठायत, सामाजिक परिचालकका रुपमा गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक सुजित तिवारी, मनोजकुमार तमोली र हुसुन बानो दर्जीलाई तीन महिनाका लागि खटाउने निर्णय भएको छ । तथ्याङ्क सङ्कलकमा वडा कार्यालयमा कार्यरत राकेशकुमार शर्मा र दाताराम यादवलाई खटाइने तथा कम्युटर अपरेटरका रुपमा गाउँपालिकामै कार्यरत विनोद चौधरीलाई पठाउने निर्णय बैठकले गरेको छ । 

    थपिँदै उपचार सेवा

    बाँकेको खजुरास्थित सुशील कोइरला प्रखर क्यान्सर अस्पतालले शल्यक्रिया  सेवा शुरुआत गरेकोे छ । अस्पतालमा शरीरमा गाठागुठी भएका र मासु पलाएका तथा जटिल खालका बिरामीको शल्यक्रियासमेत हुने कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ । कोरोना महामारीले बिरामीको उपचारमा खासै प्रभााव नपरेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम , कर्णाली  र लुम्बिनी प्रदेशको जिल्ला बाँके, बर्दिया र दाङसम्मका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।  

    सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालका लागि खजुरा गाउँपालिकालगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले पनि सहयोग गरिहेको जनाइएको छ । विसं २०७५ असार ९ गते तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको सो क्यान्सर अस्पतालले अहिलेसम्म १० हजार बढी बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ ।  

    अस्पतालले हालका लागि ओपिडी सेवा अन्तर्गत बिरामी जाँच, किमो थेरापी, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र फार्मेसी सेवा दिइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्तर्गत ५९ श्ययाबाट आफनो सेवा प्रारम्भ गरेको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुवाती चरणको उपचार सेवा लिन भरतपुर, काठमार्डौ जानुपर्ने बाध्यता पनि टरेको छ । 

     खजुराका समाजसेवी किस्मतकुमार कक्षपतिको अगुवाइमा करिब १७ वर्ष अघि(२०६५ सालमा) खजुरावासीको यज्ञकीर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरेको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामाकरण गरी भवन निर्माण गरिएको थियो । कक्षपति अहिले खजुरा गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा हुनुहुन्छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामाकरण गर्ने निर्णय गरेको थियो । यसपछि सोही नामबाट अस्पतालको सेवा सुचारु भइरहेको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij