Jun 14 2026 | २०८३, जेठ ३१ गते
पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ।
शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ।
हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ। यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वभाविक नै हो। तर तपाईँ जो कोहीसँग पनि शारीरिक सम्बन्ध बनाइहाल्नूस् भन्ने यसको अर्थ होइन।
म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्ध बनाउन सजिलो छैन। मलाई लाग्छ महिलाको हकमा पनि त्यस्तै अवस्था छ। यस्तो अवस्थामा पुरुषहरूका लागि हस्तमैथुन यौनसुखका लागि एउटा विकल्पको रूपमा हुन्छ। तर मलाई लाग्यो हिजोसम्म मैले जे खेर फालिरहेको थिएँ आज त्यसलाई विक्री गर्न पाएको छु।
शुक्राणुदानबारे मैले पत्रिकामा एउटा समाचार देखेँ। त्यसअघि मैले रक्तदानबारे मात्रै सुनेको थिएँ। पत्रिकामा समाचार देखेपछि ममा कौतुहलता बढ्यो र मैले पूरै समाचार पढेँ।
समाचार पढेपछि मैले थाहा पाएँ भारतमा यस्ता लाखौँ दम्पती छन् जो स्वस्थ शुक्राणु अभावमा बच्चा जन्माउन सक्दैनन्। र, सोही कारण शुक्राणुदानको दायरा तीव्र गतिमा बढ्दो छ।
मैले थाहा पाएँ म दिल्लीको जुन क्षेत्रमा बसिरहेको छु त्यहाँदेखि नजिकै एउटा शुक्राणु सङ्कलन केन्द्र रहेछ। त्यहाँ गएर एकचोटि हेरौँ भन्ने विचार मेरो मनमा आयो। म गोरो वर्णको छु, मेरो उचाइ ठिक्कको छ र म बास्केट बल खेल्छु।
शुक्राणु सङ्कलन केन्द्र पुगेर मैले शुक्राणु दिने प्रस्ताव गरेपछि त्यहाँका डाक्टरहरू मुस्कुराए।
मेरो व्यक्तित्व हेरेर उनीहरू खुशी भएजस्तो लागिरहेको थियो र उनीहरूको त्यस्तो प्रतिक्रिया पाएर मैले केही अहसज महसुस गरेँ। तर त्यो विषय म कस्तो देखिन्छु भन्ने कुरासँग मात्रै सम्बन्धित थिएन।
म शुक्राणु बेच्न लागेको थिएँ। अतः मैले यो साबित गर्नुपर्ने थियो कि म बाहिरबाट जति स्वस्थ छु भित्रबाट पनि उत्तिकै तन्दुरुस्त छु।
डाक्टरले मैले केही परीक्षणहरू गराउनुपर्ने भने। मेरो रगतको नमुना लिइयो। मलाई एचआईभी, मधुमेह लगायत छ कि छैन भनेर जाँच गरियो।
म सबैकुरामा खरो उत्रिएपछि पर्सिपल्ट मलाई बिहान नौ बजे बोलाइयो। मलाई एउटा फारम भर्न लगाइयो जसमा गोपनीयतासम्बन्धी केही शर्त थिए। त्यसपछि मलाई प्लास्टिकको एउटा भाँडा दिइयो र शौचालयको बाटो देखाइयो। त्यसपछि शुरू भयो यो सिलसिला।
म आफ्नो नाम लेखिएको प्लास्टिकको भाँडा लिएर शौचालय जान्थेँ र त्यसमा शुक्राणु दिइ पैसा लिएर फर्किन्थेँ। मलाई यो कुराले सन्तोष लागिरहेको थियो कि मेरो शुक्राणुबाट कोही त आमा बन्न सक्छन्।
मलाई यो पनि भनिएको थियो कि शुक्राणु दिएको तीन दिनपछि अर्को पटक दिन सकिन्छ अर्थात् एकचोटि दिएपछि कम्तीमा त्यसको ७२ घण्टापछि फेरि दिन सकिनेरहेछ।
केही महिनापछि मेरो मनमा एउटा प्रश्न आयोः के मैले आफ्ना शुक्राणुका लागि पर्याप्त रकम पाइरहेको छु त ? चलचित्र ‘विक्की डोनर’ का अभिनेता त शुक्राणु बेचेरै धनी बन्छन्, तर मैले एकचोटि शुक्राणु दिँदा जम्मा चार सय भारु पाउँछु।
हप्तामा दुई पटक दिँदा आठ सय रुपैयाँ हुन्छ अर्थात् महिनामा ३२ सय रुपैयाँ मात्र हुन्छ। मैले आफू ठगिएको महसुस गर्न थालेँ। शुक्राणु सङ्कलन केन्द्र गएर ‘ विक्की डोनर” को चर्चा गर्दै मैले पाउने गरेको रकमबारे असन्तोष जनाएँ।
तर आफूप्रतिको मेरो भ्रम त्यतिबेला टुट्यो जब सङ्कलन केन्द्रका कम्प्युटरमा ईमेलहरू देखाइयो जसबाट मानिसहरू शुक्राणु बेच्न पालो कुरिरहेको थाहा भयो।
अनि मैले आफूलाई सम्झाएँ म पनि त अभिनेता आयुष्मान खुराना होइन। शायद थोरै रकम पाउने भएर होला हामी जस्तालाई शुक्राणुदाता भन्ने गरिन्छ न कि विक्रेता।
भलै कम रकम पाउने गरेको छु, तर मेरो जीवनमा यसको सकारात्मक असर परेको छ। मलाई लाग्छ आफ्नो शुक्राणु त्यसै खेर फाल्न हुँदोरहेनछ।
अर्को कुरा हस्तमैथुन गर्ने मेरो बानी अहिले छुटिसकेको छ। मलाई थाहा छ कि मैले गलत गरिरहेको छुइनँ। तर म यो कुरा सबैलाई भन्न सक्दिनँ।
यसको अर्थ यो पनि होइन कि म कसैसित डराउँछु। तर मलाई लाग्दैन हाम्रो समाज यति परिपक्व भइसकेको छ जसले यो विषयलाई सम्वेदनशीलताका साथ बुझ्न सकोस्।
मलाई कुनै अपराधबोध भएको छैन। तर मानिसहरूलाई यसबारे बताउन जोखिममुक्त पनि छैन। यसबारे म आफ्नो घरमा कसैलाई भन्न सक्दिनँ किनकि मेरा आमाबुवालाई यसको नराम्रो असर पर्न सक्छ।
हुन त मेरा साथीहरूमाझ यो विषय अपाच्य होइन र उनीहरूका लागि पनि यो सामान्य कुरा नै हो। समस्या मेरो परिवार र नातागोतामा छ। भविष्यमा मेरी केटीसाथी ९गर्लफ्रेण्ड० लाई पनि यसबारे बताउन मलाई कुनै समस्या हुनेछैन। हुन त अहिले मेरी केटीसाथी छैन।
तर जो हुनेछ, ऊ शिक्षित हुनेछ र उसले यसलाई सहज रूपमा लिने मेरो विश्वास छ। मलाई लाग्छ यो विषयलाई श्रीमतीहरूले सहज रूपमा लिन नसक्लान् किनकि उनीहरू नचाहलान् आफ्ना श्रीमान्ले कसैलाई शुक्राणुदान गरून्।
उसो त शुक्राणु किन्नेहरू अविवाहित पुरुषलाई नै प्राथमिकता दिँदारहेछन् र २५ वर्ष उमेरसम्मका लागि राम्रो मान्दारहेछन्।शुक्राणुदाताको नाताले यो विषयमा मलाई धेरथोर ज्ञान भएको छ। शुक्राणुको मूल्य त्यसको गुणस्तरबाट मात्रै निर्धारण हुँदैन।
तपाईँको पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता लगायतका कुराले पनि अर्थ राख्दोरहेछ। यदि तपाईँलाई अङ्ग्रेजी भाषा आउँछ भने तपाईँको शुक्राणुको मूल्य पनि बढी आउनेरहेछ।
हुन त अङ्ग्रेजी जान्ने व्यक्तिको शुक्राणुबाट जन्मिने बच्चामा त्यसको के प्रभाव पर्छ त्यो मलाई थाहा छैन, तर कैयौँले त्यस्ता पुरुषको शुक्राणु खोज्दारहेछन्।
मलाई थाहा छ शुक्राणुदाताका रूपमा मेरो परिचय सधैँभरि मसँग हुनेछैन किनकि सधैँभरि त्यो दिइरहने अवस्था पनि रहँदैन। यो कुरा मेरो आमाको निम्ति लाजको विषय हुनसक्छ र मसँग बिहे गर्न कुनै युवतीले अस्वीकार गर्न पनि सक्छिन्।
तर शुक्राणुदानलाई लाजको विषय मान्ने हो भन्ने हस्तमैथुन पनि त लज्जाको विषय हुनुपर्छ। तर मेरो लागि यी दुइटै कुरा लाजका विषय होइनन्।
(बीबीसी हिन्दीका सम्वाददाता रजनीश कुमारले तयार पारेको एक युवकको जिन्दगीमा आधारित सत्य घटना। ती युवकको आग्रहमा उनको नाम गोप्य राखिएको छ।) एजेन्सी
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij