Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपालमा कोभिड-१९ को दोस्रो लहरमा कुन उमेर समूह बढी प्रभाव !

नेपालमा कोभिड-१९ को दोस्रो लहरमा कुन उमेर समूह बढी प्रभाव !

  • काठमाडौँ ।  पछिल्लो सरकारी आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको र ३० देख ५० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउने क्रम बढिरहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्मको उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो। सङ्क्रामक रोगसम्बन्धी एक विशेषज्ञले पछिल्लो आँकडालाई अस्वाभाविक भन्दै कोभिड-१९ ले नेपालमा फरक खालको स्थिति देखाउनु चिन्ताजनक भएको बताएका छन्। तर अर्का एक विज्ञले व्यापक स्तरमा भाइरस फैलिएकाले पछिल्लो अवस्था देखा परेको हुनसक्ने उल्लेख गर्दै सङ्क्रमणबाट बढी प्रभावित भनिएका उमेर समूहमा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या रहेको टिप्पणी गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को सङ्क्रमण दर नियन्त्रणका लागि स्वास्थ्य मापदण्डहरूको पालनामा जोड दिँदै त्यसबाट मात्र बढ्दो सङ्क्रमणका घटनाले निम्त्याउन सकिने चुनौती सम्बोधन गर्न सकिने बताएका छन्।

    AGNI GROUP

    आँकडाले के देखाउँछ?

    स्वास्थ्य मन्त्रालयको आँकडाका अनुसार चैत्र १ गतेदेखि वैशाख १६ गतेसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउने सबैभन्दा बढी व्यक्तिहरू ५० वर्षदेखि माथिका छन्। त्यसमा ५० देखि ५९ वर्षका ५० जना, ६० देखि ६९ वर्षका ४७ जना र ७० वर्ष वा सो भन्दा माथिका ६३ जना रहेको उल्लेख छ। उक्त अवधिमा कोरोनाभाइरसका कारण नेपालमा ३० देखि ३९ वर्ष उमेर समूहका २० जना र ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ४४ जनाको मृत्यु भएको जनाइएको छ।

    कोरोनाभाइरसको पछिल्लो लहर नेपालमा पनि घातक बन्दै गएको भन्दै चिन्ताहरू व्यक्त भइरहँदा सरकारले तयार पारेको तथ्याङ्कले कोभिड १९ का कारण १० देखि १९ वर्षको उमेर समूहका २ जना र २० देखि २९ वर्ष उमेर समूहका ५ जनाको ज्यान गएको देखाएको छ। डेढ महिनाको अवधिमा सबैभन्दा बढी सङ्क्रमण २० देखि ३९ वर्षका व्यक्तिहरूमा पुष्टि भएको पाइएको छ। उक्त आँकडामा २० देखि २९ वर्षको उमेर समूहका व्यक्तिहरूमध्ये १० हजार ४ सय ५८ जना र ३० देखि ३९ वर्षको समूहका १० हजार २ सय ८७ जनालाई सङ्क्रमण देखिएको भनिएको छ।

    ६० वर्ष भन्दा माथिको उमेर समूहका व्यक्तिभन्दा बढी सङ्क्रमण ४० देखि ५९ वर्षका व्यक्तिहरूमा पाइएको छ। ४० देखि ४९ वर्ष उमेर समूहका ७ हजार ६ सय १७ र ५० देखि ५९ वर्ष समूहका व्यक्तिमा ५ हजार २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ। सो अवधिमा ६० देखि ९० वर्षभन्दा माथिको उमेर समूहका ४ हजार २ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

    उक्त तथ्याङ्कले ९ वर्षभन्दा मुनिका ८ सय ९० जनामा र १० देखि १९ वर्षका ३२ सय ९२ जनामा सङ्क्रमण देखिएको पनि उल्लेख गरेको छ।

    'अस्वाभाविक'

    शुक्रराज ट्रपिकल तथा सङ्क्रामक रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुन पछिल्लो तथ्याङ्कले तुलनात्मक रूपमा स्वस्थ्य ठानिएको ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिहरूमा कोरोनाभाइरसको जोखिम नेपालमा बढिरहेको देखिएको बताए। उनी भन्छन्, "हाम्रै अस्पतालमा पनि बढी ३० देखि ५० वर्षका व्यक्तिहरू आईसीयूमा भर्ना भएर बसिरहेको अवस्था छ।" "पहिलो लहरमा पनि नेपालमा २० देखि ४० वर्षका व्यक्तिहरू नै बढी सङ्क्रमित देखिएका थिए। तर त्यो बेला ज्यान गुमाउनेहरू ६० वर्षभन्दा माथिको उमेर समूह भएका वा अरू दीर्घ रोग भएका व्यक्तिहरू बढी थिए।" "तर अहिले ३० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिहरूको मृत्यु भएको प्रवृत्ति देखा परिरहेको छ यसले भाइरसको कोर्स केही परिवर्तन भएको जस्तो लाग्छ।" "कोरोनाभाइरस अझ शक्तिशाली भएर जसको रोग प्रतिरोधी क्षमता राम्रो छ र तीनलाई केही हुँदैन भनेर ठानिँदै आइएको थियो त्यस्ता व्यक्तिलाई अझ बढी असर गर्न थालेको जस्तो देखिन्छ।" डा. पुनले यसलाई अस्वाभाविक र चिन्ताजनक भन्दै थप अध्ययनहरू हुनुपर्ने बताए।

    "कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने, फरक फरक उमेर समूहमा जाने जुन किसिमको गतिविधि देखाइरहेको छ सङ्क्रामक रोग सम्बन्धी क्षेत्रमा २० वर्ष काम गर्दा मलाई सबैभन्दा अस्वाभाविक लागेको यही हो।" "यो कति खतरनाक हुनसक्छ वैज्ञानिकहरूले अध्ययन गरिरहेका होलान्। आगामी दिनमा यो कस्तो हुँदै जानेछ यसलाई बुझ्न अझै समय लाग्छ।"

    थप अध्ययन आवश्यक

    सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यात सङ्क्रमण फैलिएकाले अहिलेको अवस्था आएको हुनसक्ने बताउँदै अध्ययन बिना कुनै निष्कर्ष सुनाउन नसकिने बताउँछन्। उनले भने, "जब ठूलो समूहमा सङ्क्रमण फैलन्छ। धेरै मानिसहरू प्रभावित हुन्छन्। थप अध्ययन नगरी कम उमेरका व्यक्तिमा बढी भइरहेको छ भनेर किटेर भन्न गाह्रो छ।"

    "तर हाम्रो दक्षिण एसियामा नै पश्चिमी विश्वसँगको तथ्याङ्कको तुलना गर्दा ४० देखि ७० वर्षको उमेर समूहका व्यक्तिले ज्यान गुमाउने क्रम बढेको जस्तो छ।"  उनले थपे, "हाम्रोमा मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्ता समस्या छन् जुन यो भाइरसले एकदम मन पराउँछ। त्यही प्रतिविम्बित भएको हुनसक्छ।" "सानो उमेर समूहका व्यक्तिहरूलाई अर्कै प्रकारको कोरोनाभाइरसले समातेको हो कि यस्ता यावत प्रश्नहरू अझै पुष्टि गर्न बाँकी नै छ।" उनले अहिले देखा परेको भाइरस पहिलाभन्दा अझ सजिलै सर्न सक्ने भाइरस जस्तो देखिएको आफूलाई लागेको बीबीसीलाई बताए। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार नेपालमा कोरोनाभाइरसका कारणले सर्वाधिक दैनिक मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालयका अनुसार बिहीवार २४ घण्टामा ३५ जनाले ज्यान गुमाएका थिए। हालसम्म नेपालमा ३ लाख २ सय भन्दा बढीलाई कोभिड-१९ पुष्टि भएको छ भने सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३२ सय नाघेको अधिकारीहरूले बताइरहेको छ। डा. पुनले अहिले देखिएको महामारीको दोस्रो लहरलाई नियन्त्रणमा लिन मास्क लगाउने, दूरी कायम गर्ने, नियमित साबुन पानीले हात हुने वा स्यानिटाइजर प्रयोग गर्ने सहितका स्वास्थ्य मापदण्डलाई पालना गरिनुपर्नेमा जोड दिएका छन्। डाक्टर बस्न्यात भने कोभिड-१९ नियन्त्रणका लागि खोप नै सबैभन्दा उपयुक्त विकल्प भएकाले त्यसको जोहो गर्न सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिन्छन्। साभार: बीबीसी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij