Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरूद्ध खोप लगाएका छन्।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ। सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबभन्दा बढी कैलालीमा र सबभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन्। कैलालीमा सबभन्दा बढी ६३ हजार ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।
यस्तै, कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार ९७३, बैतडीमा १६ हजार १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएका हुन्। अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो।
सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै उक्त अभियान सुरू गरिएको थियो। प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले लगाएका थिए। रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij