काठमाडौँ । चिसो बढेसँगै बुटवलका विद्यालयहरू तीन दिन बन्द रहने भएका छन् ।
बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द हुने जनाएको हो । १२ गते शनिबार सार्वजनिक बिदा नै परेकाले लगातार चार दिन विद्यालयहरु बन्द हुने भएका हुन् ।
‘केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,’ उपमहानगर प्रमुख खेलराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने विज्ञप्तिमा जनाइएको छ ।


