Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा आइतबार राति प्रहरीले छापा मार्दा २० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरस्थित गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा छापा मारेको हो ।
छापाका क्रममा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
एसपी कटवालका अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध रहे पनि नेपालीहरू भेटिएकाले उनीहरूलाई पक्राउ गरिएको हो । “क्यासिनोमा नेपाली प्रवेश निषेध छ । निषेध गरिएको स्थानमा नेपालीलाई प्रवेश गराएको पाइएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,” उनले भने ।
पक्राउ परेकामध्ये केहीले आफू कर्मचारी भएको दाबी गरेपछि प्रहरीले परिचयपत्र माग गरी ‘स्क्रिनिङ’ प्रक्रिया अघि बढाएको जनाएको छ । स्क्रिनिङ पूरा भएपछि मात्रै कति जनाविरुद्ध मुद्दा दर्ता हुन्छ भन्ने यकिन हुने एसपी कटवालले बताए ।
प्रवेश निषेध रहेको क्यासिनोमा नेपालीहरू निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij