
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौँ । नेपाली अल राउण्डर क्रिकेटर दिपेन्द्र सिंह ऐरी दक्षिण अफ्रिकाको एसए टी-२० को अक्सन सूचीमा समावेश भएका छन् ।
एसए टी-२० लिगले सोमबार जारी गरेको अक्सन सूचीमा नेपालबाट दिपेन्द्र मात्र रहेका छन् । एसए टी-२० को चौथो संस्करणको अक्सन सेप्टेम्बर ९ मा जोहन्सबर्गमा हुदैछ । यस लिगका लागि ८ सय भन्दा बढी विश्वभरका क्रिकेटरले अक्सन सूचीमा नाम दर्ता गरेपनि ५४१ खेलाडी अक्सनमा सामेल गराइने भएको छ । जसमा दक्षिण अफ्रिकाका ३०० र २४१ विदेशी खेलाडी छन् ।
यस लिगका ६ फ्रेन्चाइजीले यस अक्सनमा कुल ८४ खेलाडी किन्ने छन् । जसमा विदेशी खेलाडी बढीमा २५ जना हुने बताइएको छ । हरेक फ्रेन्चाइजीले न्युनतम १९ खेलाडीसहितको टिम बनाउनुपर्ने जसमा न्युनतम ९ जना दक्षिण अफ्रिकाका र बढीमा ७ जना विदेशी खेलाडी समावेश गर्न सक्नेछन् ।
त्यस्तै यस पटकदेखि २ जना दक्षिण अफ्रीकाका यू-२३ खेलाडी र एक जना वाइल्ड कार्ड खेलाडी अनिवार्य गरिएको छ ।चौथो संस्करणको एसए टी–२० लिग आगामी डिसेम्बर २६ देखि फेब्रुअरी ८ सम्म हुनेछ । एसए टी-२० मा डर्बन्स सुपर जाइन्ट,जोबर्ग सुपर किंग्स, एमआइ केप टाउन, पर्ल रोयल्स, प्रेटोरिया क्यापिटल्स र सनराइजर्स इस्टर्न कप गरि ६ फ्रेन्चाईजी रहेका छन् ।
यसअघि सम्पन्न तीन सिजनमा २०२३ र २०२४ मा सनराइजर्स इस्टर्न कप तथा २०२५ मा एमआई केप टाउनले उपाधि जितेका थिए । एसए टी-२० आइपिएलपछि लोकप्रिय टी-२० मानिन्छ । यसका सबै फ्रेन्चाइजीमा आइपिएल टिमका मालिकको लगानी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij