
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौं । अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर भएको छ । गत सातामात्रै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा गरिएको थियो । फेरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको छ ।
रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ । ठूला करदाता कार्यालयका ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ ।
यस्तै अन्य दर्जनौँ अर्थका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरिएको हो । यसअघि सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर भएको थियो । जसअनुसार वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको थियो । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका छन् ।
मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रूपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाए ।
पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डिराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थियो । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाएका थिए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन् । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।
मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको थियो । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई ल्याएका थिए ।
भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका थिए । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन्, भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
पछिल्ला दिनहरुमा अर्थमन्त्रालय मातहतका निकायहरुमा सरुवा व्यापक रूपमा भइरहँदा बजेट कार्यान्वयनको मुखमा प्रभावित हुने खतरा बढेको जानकारहरुले बताउँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij