
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।
यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।
लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् ।
लोकको प्रशिक्षण अनुभवले काठमाडौं स्पाइकर्सले राम्रो नतिजा हात पार्ने टिमको विश्वास छ । भलिबलप्रतिको उनको समर्पण, अनुभव र अनुशासनको कारण उनले फ्रेन्चाइज टिममा जिम्मेवारी पाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij