Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । देशका सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। प्रचलित कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।
नेपालको संविधानले संघीय सरकारलाई प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउने व्यवस्था गरेको छ भने अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेश सरकारले असार १ गतेभित्र आफ्नो बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। त्यस्तै स्थानीय तहहरूले असार १० गतेभित्र आगामी वर्षको आय–व्यय विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।
संघीय बजेट सार्वजनिक भएपछि त्यसलाई आधार बनाएर प्रदेशहरूले आफ्ना नीति तथा कार्यक्रमअनुसार बजेट तयार गर्ने अभ्यास रहँदै आएको छ। यस वर्ष पनि सुशासन प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जनाइएको छ।
यद्यपि चालु आर्थिक वर्षमा अधिकांश प्रदेशको बजेट कार्यान्वयन अपेक्षाअनुसार हुन सकेको छैन। विकास खर्च न्यून रहनुका साथै बजेट कार्यान्वयन क्षमतामा कमजोरी देखिएको भन्दै प्रदेश सरकारहरू आलोचनाको केन्द्रमा रहेका छन्। आगामी बजेटमार्फत खर्च व्यवस्थापन र विकास योजनाको प्रभावकारी कार्यान्वयनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij