
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मिलनचोकस्थित एक घरमा आज बिहान आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नारायण कृष्ण रसाईलीको साढे दुई तले घरको छतमा जस्ताले बनाइएको टहरोमा ग्यास लिक भई आगलागी भएको हो । आगलागीका कारण टहरो पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घटना जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको कमाण्डमा खटिएको टोलीले स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो ।
आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी बल, कागेश्वरी मनोहराका नगर प्रहरी, नेपाली सेनाको रामहिटी र दक्षिणढोकास्थित दमकलसमेत परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार मानवीय क्षति भने नभएको छ । आगलागीको थप विवरण र क्षतिको यकिन मूल्यांकन कार्य जारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij