
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश उपाध्यक्ष डा.गिरबहादुर महरा हत्या प्रयासको अभियोगमा पक्राउ परेका छन् ।
जेठ ५ गते बिहान २ बजे घोराहीस्थित पौवा होटेलमा मदिरा सेवनपश्चात मदन गिरीमाथि आक्रमण गरी हत्या प्रयास गरेको आरोपमा महरा पक्राउ परेको दाङ प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा संलग्न सोही होटेलका सञ्चालक नविन श्रेष्ठलाई घटनाको दिनै पक्राउ गरिएको थियो भने डा. महरा र “सानो हात्ती” उपनामले चिनिने उत्तम घर्तीले जेठ ८ गते प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
घर्ती सत्तारूढ एमाले निकट युवा संघको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगर इन्चार्ज हुन् । आत्मसमर्पण गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै, तीन जना डिएसपी र एक जना डाक्टरको बोलावटमा होटेल पुगेको र आफ्नो साथीसँग सिसा प्रहार भएपछि प्रतिकारमा उत्रिएको दाबी गरेका छन् ।
प्रहरीले उनीहरूविरुद्ध ज्यानमार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ । तर, घर्तीले उल्लेख गरेका प्रहरी अधिकृतहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij