
Jun 02 2025 | २०८२, जेठ १९ गते
काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकाका स्थानीयले बालविवाह नगर्ने र गर्न नदिने संकल्प गरेका छन् । उनीहरुले कानुनी रुपमा अपराध ठानिएको बालविवाह जरैदेखि उखेल्नु पर्नेमा प्रतिबद्धता जनाएका छन् ।
केन्द्रीय सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले कर्णालीकै पहिलो पालिकाका रुपमा हिमालाई बालविवाह मुक्त पालिकाका रुपमा घोषणा गरेका हुन् । उनले सामाजिक कुरीति र कुसंस्कृतिका रुपमा मौलाइरहेको बालविवाह अन्त्यको घोषणाले मुलुकमा सुखद सन्देश फैलाइरहेको बताए ।
पालिकाले झन्डै तीन वर्षको अभियानसँगै पालिका नै बालविवाह मुक्त घोषणा गर्न सकेको हो । यसअघि पालिका भित्रका सातवटै वडा बालविवाह मुक्त भइसकेका छन् । बालविवाह सम्बन्धिको राष्ट्रिय रणनीति २०७२ र बालविवाह मुक्त सर्वेक्षण तथा रणनीति २०७९ मा टेकेर बालविवाह मुक्त पालिका घोषणा भएको हो ।
२०८०/२०८१ मा १३२ जनाले विवाह गरेका सबैको उमेर पुगेको थियो । महिला तथा बालबालिका शाखा राज्यलक्ष्मी रावलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार तीन वर्षयता बालविवाह भएको छैन । हिमा १ मा १८,२ मा २७, ३ मा २२, ४ मा १८, ५ मा १२, ६ मा २२ वटा र ७ मा २३ जोडीले विवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बालविवाह मानवीय जीवनयापनसँग जोडिएकाले यो विषय प्राथमिकताका साथ उठाएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij