
May 12 2025 | २०८२, वैशाख २९ गते
सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।
काठमाडौं । कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ ।
उक्त सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।
कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
रामाघाट–साईगाउँ खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पार गर्नु पर्नेछ । कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो ।
सडक डिभिजन कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको काम थालेको थियो । सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्नेगरी बैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए । ‘दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो,’उनले भने, ‘निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।’
राजमार्ग जेठ ११ गतेसम्म दैनिक विहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुनेछ । लामो समयसम्म सवारी रोक्नुभन्दा बैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य रहेको भण्डारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij