Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने घटे

राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने घटे

  • राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने सेवाग्राही घटेका छन्। सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिने सेवाग्राही घटेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले बताएको छ।

    images
    images
    images

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि सार्वजनिक सेवा लिन परिचयपत्र अनिवार्य गरेको थियो। २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा साउन १ गतेदेखि लागू हुने गरी परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो। दोस्रो चरणमा १ माघ २०८१ थप ३८ जिल्लामा अनिवार्य गर्ने भनिएको थियो भने  २०८२ साउन १ पछि देशभरि अर्थात् ७७ वटै जिल्लामा सरकारी सेवा सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराउने तयारी गरिरहेको छ।

    योजनानुसार पहिलो चरणमा २८ जिल्लाहरूमा कार्यान्वयन भयो। तर त्यसमा मानिसहरूले धेरै सास्ती झेल्नुपर्‍यो, कैयन् जेष्ठ नागरिकहरू समाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै विरोध भयो। परिचयपत्र तत्काल कार्यान्वयन गर्दा धेरै लाभग्राहीलाई समस्या भएको भन्दै अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाएर २८ असारमा सर्वोच्चमा रिट दर्ता गरे।

    राउतसहित दुई जनाले दिएको रिटमा सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दियो। भदौ ७ गते न्यायाधीश मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। यो प्रक्रिया यही टुंगिएन। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरूद्ध सरकारले भ्याकेट निवेदन दर्ता गर्यो। उक्त आदेशविरूद्ध राष्ट्रिय पञ्जिकरण विभागले महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेट निवेदन दर्ता गरेको हो। परिचयपत्र अनिवार्य गर्दा फाइदा भएको छ।

    तत्काल कार्यान्वयन नगर्ने आदेशपछि असर परेकाले भ्याकेट  निवेदन दर्ता गराएका हौं, राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा निर्देशक तुलसीप्रसाद दाहाल भन्छन्, परिचयपत्र व्यक्तिगत पहिचान गर्ने माध्यम हो। यसले आम नागरिकलाई पहिचान गर्न सहज बनाएको छ। नेपालको संविधान धारा ३९ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक सुनिश्चित गरिएको छ। सोही अनुसार हरेक नागरिकको विवरण संकलन गर्न परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक दाहालले जानकारी दिए।

    संविधानले तोके अनुसार प्रत्येक व्यक्तिको विवरणलाई रेकर्ड राख्न परिचयपत्र अनिवार्य गरिएको हो। यो कार्ड अन्य सरकारी तथा निजि क्षेत्रले दिने सेवासुविधामा पनि जोड्ने सरकारको तयारी छ। परिचयपत्र अन्य सरकारी कागजातसँग जोड्ने कडी हो, उनले भने, कार्ड बनाउँदा गरेको बायोमेट्रिकले सही व्यक्ति पहिचान गर्न सहयोग पुर्‍याउँछ। उनले थपे, परिचयपत्र बनाउँनाले धेरै फाइदा भएको छ । उनका अनुसार अहिलेसम्म १ करोड ६३ लाखले विवरण दर्ता गराएका छन्। तीमध्ये ५८ लाखको कार्ड प्रिन्ट भएको छ। बाँकीको छाप्ने काम भइरहेको छ। सर्वोच्च अदालतले परिचयपत्र अनिवार्य नगर्न भनेपनि यसको काम रोकिएको छैन।

    विवरण भर्ने र कार्ड लिनेको संख्या बढ्दै गइरहेको छ। परिचय पत्र लिनेको संख्या बढ्दैगएसँगै सरकारी सेवा सुविधा लिनेको संख्या घट्दै गइरहेको उनी बताउँछन्। पेन्सन र सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई परिचयपत्र अनिवार्य गरेसँगै चालु आर्थिक वर्षमा सेवाग्राही घटेका उनको भनाइ छ।वर्षौनी बढ्दै गइरहेको सामाजिक सुरक्षा संख्यासमेत घटेको छ। २०८०र८१ मा ३८ लाख २९ हजार सामाजिक सुरक्षाका लाभग्राही थिए। चालु आर्थिक वर्षको असोज पहिलोसातासम्म ३४ लाख ९७ हजार लाभग्राही छन्।

    गत वर्षहरूमा डेढ दुई लाखमा संख्या थपिदै गएको थियो। यस वर्ष घटेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक सुभास ढकालले जानकारी दिए। यस वर्ष सामाजिक सुरक्षाकोषमा नवीकरण गर्नेको संख्या घटेको छ। तर कहिलेसम्म यही कारण हो भनेर पुष्टि हुन सकेको छैन। उनका अनुसार मृत्यु भएर जानकारी नगराइएको, सेवाग्राही देशबाहिर गएको र दोहोरो भत्ता लिएका कारणले घटेको अनुमान हो। यही कारणले घटेको हो भन्नसक्ने अवस्था भने छैन।

    राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक दाहालले पनि परिचयपत्र अनिवार्य गरेपछि दोहोरो भत्ता लिनेहरू पन्छिएको बताए। घटेकाहरू सबै दोहोरो भत्ता लिएकाहरू भन्न सक्ने अवस्था छैन तर परिचयपत्र पनि एउटा कारण हो, उनले भने, पेन्सन लिनेको संख्यापनि घटेको छ। निर्देशक दाहालका अनुसार यस वर्ष असोजसम्म पेन्सन लिने २ हजार ४६६ जना घटेका छन्। निवृत्तभरण व्यवस्थापन कार्यालय प्रमुख बिष्णुप्रसाद खरेलले पनि यसवर्ष पेन्सन लिनेको संख्या घटेको दाबी गरे। परिचयपत्र अनिवार्य गरेपछि लामोसमयदेखि दोहोरो भत्ता लिनेहरूले नवीकरण गर्न नपाएका हुन्, उनले भने, योसँगै मृत्यु भएको तर कार्यालयमा जानकारी नआएको पनि हुनसक्छ।

    प्रमुख खरेलका अनुसार श्रीमान् बितेपछि अर्को विवाह गरेर पनि कतिपय श्रीमतीहरूले पेन्सन लिइरहेका थिए। अहिले परिचयपत्र अनिवार्य गर्दा त्यसमा विवरण फरक परेपछि कतिपयको पेन्सन कटौती भएको छ। एकदुई जना व्यक्ति आफूले पेन्सन लिन नचाहेको भन्दै कार्यालयमा निवेदन दिएकोसमेत उनले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij