
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । अस्पतालबाट इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए ।
हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मंगलबार अपराह्न ४ बजेतिर विर्तामोडको पूर्णटुंग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij