
Apr 21 2025 | २०८२, वैशाख ८ गते
लमजुङ । महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार चार आर्थिक वर्षको २०७४÷२०७५ देखि चालु आव २०७७÷०७८ को साउदेखि पुस महिनासम्ममा १८४ घरेलु हिंसा सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ । यीमध्ये ११६ वटा घरेलु महिला हिंसाका उजुरी मिलापत्र भएको छ भने २४ मात्र अदालती प्रक्रियामा गएको अर्थात् अदालतमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै ४४ उजुरीको भने काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना, आवश्यक खर्चसमेत नदिइ आर्थिक अभावमा पारेर यातना, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमध्ये यस चालू आवको साउनदेखि पुस महिनासम्म ३२ वटा उजुरी दर्ता भएका थिए । सोमध्ये १७ वटा मिलापत्र भएको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij