
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर लागेपछि साइपाल गाउँपालिकाका विद्यालय बन्द भएका छन् । गाउँपालिकाभरका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेकउक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नभएको हो।
यार्सा संकलनको मौसम शुुरु भएकाले वैशाख २४ गतेदेखि असार १ गते सम्म पालिकाभरिका विद्यालय बन्द गरिएको साइपाल गाउँपालिकाका शिक्षा संयोजक खडकबहादुर बुढाले बताए ।
अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा तीन साताका लागि विद्यालय बन्द गरेको उनले बताए ।
शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको अन्तरक्रियाबाट बर्खे र हिउँदे बिदामा मिलान हुने गरी यार्सा संकलनको समयमा बिदा गरिने समझदारी भएको बुढाको भनाइ छ।
यार्सा संकलनको मौसम शुुरु भएसँगै जिल्लाका साइपाल, सुर्मा, मष्टा, छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिका लगायतका बासिन्दा लेक उक्लिने चटारोमा रहेको स्थानीय घुरन बोहराले बताए । साइपाल गाउँपालिकाले बैशाख २४ गतेबाट यार्सा संकलन गर्नुपर्ने सूचना जारी गरे पनि स्थानीय वैशाख दोस्रो सातादेखि नै लेकतिर गइसकेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij