
Apr 22 2025 | २०८२, वैशाख ९ गते
चितवन । जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।
मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौँको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरिइसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिनुभयो ।
अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij