काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा शुरू भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। उनका अनुसार औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गाम्भीर्यताका आधारमा तहगत रूपमा व्यवस्थित गर्ने काम भएको छ ।
दुवै देशका प्रतिनिधिमण्डलले आफ्नो विषयसूची एकअर्कासँग मेल खाने गरी समसामयिक आधारमा बैठकमा प्रस्तुत गर्ने तयारी पहिलो दिन गरेका छन् । त्यसका लागि भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले सहजीकरण गरेका छन् । उनले मन्त्री ज्ञवाली दिल्ली पुग्नुअघि पनि बैठकका लागि आवश्यक तयारी, सुरक्षा व्यवस्थासहित वातावरण निर्माण गर्ने कार्यमा सक्रियता जनाएका थिए । जसका लागि उनले बिहीबार नै भारतीय सुरक्षा संयन्त्रका उच्चाधिकारीसँग छुट्टै छलफलसमेत गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको औपचारिक बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।