
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार भने परराष्ट्रमन्त्री ज्ञवाली दिनभर व्यस्त हुने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको विषयमा औपचारिक सूचना जारी गर्न ढिलाइ गर्दा केही समय अन्योल भए पनि भारत भ्रमणको एक घण्टाअघि मात्रै भारतीय विदेश मन्त्रालयले सूचना जारी गरेको थियो । नेपालले भने तीन दिनअघि नै परराष्ट्रमन्त्रीको भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको थियो । भ्रमणको केही दिनअघि नै एकैसाथ दुई देशले विज्ञप्ति निकालेर सूचना जारी गर्ने गरेको भए पनि यसपटक भने भारतले अन्तिम समयमा मात्रै विज्ञप्ति निकालेको थियो ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार बिहीबार कुनै औपचारिक कार्यक्रम छैन । २ माघ (शुक्रबार) बिहान ज्ञवालीले ११ बजे आफ्ना समकक्षी एस जयशंकरसँग हैदराबाद हाउसमा भेट्ने कार्यतालिका छ । भेटसँगै दुई देशका विदेशमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्ने कार्यक्रम रहेको छ ।
बिहान साढे ११ बजे नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु हुनेछ । बैठकमा दुई दर्जनभन्दा बढी द्विपक्षीय संयन्त्रमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुनेछ । बैठकमा नेपालले सीमा, ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटीलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij