
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । कोलम्बियाको अमेजन जङ्गलमा ४० दिनपछि भेटिएका चार बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । अमेजनको वर्षा जंगलमा ४० दिन पछि जिउँदै फेला परेका बालबालिकामा १३, नौ, पाँच र एक वर्षका भाइबहिनीहरू रहेका थिए ।
‘उनीहरु धेरै नै कमजोर भएका छन् तर आफ्नो परिवार देख्न पाउँदा उनीहरु खुसी देखिएका छन्,’ उनीहरूका हजुरबुवा फिडेनसियो भ्यालेन्सियाले भने । सेना र स्थानीयको एक महिनाभन्दा बढी खोजीपछि बल्ल चारजना बालबालिकालाई जिबितै फेला पारेका हुन् ।
गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरु बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको छ ।
उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलहरूसहित चिन्हहरू देखे पछि उनीहरूको खोजीलाई तीब्र पारिएको थियो ।
जसअनुसार उनीहरुलाई ४० दिन पछि सकुशल फेला पारिएको थियो । सुरक्षा अधिकारीहरुका अनुसार सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले उनीहरूलाई जंगलमा कसरी जिउँदै रहने भन्ने मार्गदर्शन गरेकी थिइन् ।
सो क्रममा उनीहरुले जंगली फलफूल खाएर बाँचेका थिए । उनीहरुले घना जंगलका बिचमा कसरी आफनो जीवनलाई काबुमा राख्ने भन्ने कुरा जानेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
‘तिनीहरू थोरै बोलिरहेका छन् र तिनीहरूमध्ये दुईले खेल्नसमेत थालेका छन्,’ कोलम्बिया अस्पतालका एक स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij